नेपालमा हेलिकोप्टर उड्दा भारतमा खैलाबैला, जानकारी जुटाउन गुप्तचर परिचालन



२४ पुष २०७६, काठमाडौं

एक नेपाली हेलिकोप्टरको बारेमा भारतमा खैलाबैला मच्चिएको छ।

गत सोमबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भुजेला क्षेत्रमा उडेको सो हेलिकोप्टरको कारण भारतमा खैलाबैला मच्चिएको भारतीय अखबार अमर उजालाले जनाएको छ।

समाचारमा जनाइएकअनुसार उक्त हरियो रङको हेलिकोप्टर भुजेला गाउँ हुँदै बनबासा क्षेत्रमा पुगेको थियो। शारदा ब्यारेज र भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पमाथि केही बेर उडेर सो हेलिकोप्टर नेपालतर्फ फर्किएको थियो।

भारतीय सुरक्षा एजेन्सीहरुले यस सम्बन्धमा उच्च अधिकारीहरुलाई जानकारी गराएको र नेपालसँग पनि जानकारी माग गरिएको बताइएको छ। भारतीय सुरक्षा एजेन्सीहरुले उक्त हेलिकोप्टरबारे जानकारी जुटाउनका लागि गुप्तचरलाई समेत परिचालन गरेको उक्त अखबारको दावी छ।

उक्त हेलिकोप्टर आफ्नो वायुक्षेत्रमा प्रवेश गरेको र सुरक्षा निकायको क्याम्पमाथि उडेको भन्दै पूर्व जानकारीबिना यसरी आउनुको कारण पत्ता लगाउन भारतीय अधिकारीले मातहतका निकायलाई निर्देशन दिएको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्