२४ पुष २०७६, काठमाडौं
नेपाली कांग्रेसका युवानेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्री ६ बडामहारानी भएको आरोप लगाएका छन्।
सूचना प्रविधि विधेयकको विरोधमा बिहीबार माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले राष्ट्रपतिलगायत केही नेताहरूलाई पुरानै राजामहाराजाको शैलीमा नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका हुन्।
‘श्री ६ बडामहारानी विद्या भण्डारीकी जय, श्री ५ महाराज धिराज केपी ओलीकी जय, श्री ३ महाराजधिराज प्रचण्डकी जय भन्ने मान्छे बाँच्यो, बाँकी मान्छे गयो,’ थापाले भने, ‘अहिलेको सूचना प्रविधि विधेयकले गर्न खोजेको यही हो। सरकार आलोचना सहन नसक्ने काँतर छ।’
यस्तै उनले नागरिकलाई तर्साउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको आरोप पनि लगाए। ‘नागरिकले नेकपालाई बहुमत दिएको नागरिकलाई बलियो बनाउन हैन?’ उनले सरकारका प्रवत्ता गोकुल बाँस्कोटालाई प्रश्न गरे।
यसैगरी उनले सूचना प्रविधि विधेयकको विरोध गरिरहेका नेकपाका नेता भीम रावल र रामकुमारी झाँक्री पनि सरकारको निशानामा रहेको बताए।