काठमाडौंबाट आइएसआइएसका तीन आतंककारी पक्राउ



२४ पुष २०७६, काठमाडौं

दिल्ली प्रहरीको विशेष फोर्सले आइएसआइएसका तीन आतंककारीलाई नेपालबाट पक्राउ गरेर भारत लगेको छ।

बिहीबार दिल्ली प्रहरीले तीनै जना आतंककारीलाई पक्राउपछि पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। तामिलनाडुबाट फरार भएका आइएसआइएसका आतंककारी नेपालबाट दिल्ली जाँदैछन् भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको श्रोतले बतायो।

बजीराबाद इलाकामा योजना बनाए पनि उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको हो। प्रहरीले तीनै जनालाई आत्मसमर्पण गर्न भनेपनि उनीहरुले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाहीमा तीनै जनालाई पक्राउ गर्न सफल भएको थियो।

यस्तै दिल्ली प्रहरीको विशेष फोर्सका अनुसार ति तीनै जना आतंककारी तामिलनाडुमा एक हिन्दु नेताको हत्यामा समेत संलग्न थिए। सन् २०१४ मा भारतका केही साथीहरुसँग मिलेर उनीहरुले तामिलनाडुका हिन्दु नेता सुरेश कुमारको हत्या गरेर जेल चलान भएका तीनै आतंककारी धरौटीमा रिहा भई १२ र १३ डिसेम्बरमा भागेर नेपाल आएका थिए।

उनीहरु नेपालमा १५/२० दिनको बसाईपछि दिल्लीमा रहेका आफ्नो साथीलाई भेट्न जाने योजनामा रहेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा अब्दुल समद, ख्वाजा मोहिद्धिन र सैयद अली रहेका छन्।

प्रतिक्रिया दिनुहोस्