प्रेस रिभ्यू : प्रचण्डले ओलीलाई भने, ‘सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु’



युद्ध भए विमान चार्टर्ड गरेरै मध्यपूर्वबाट नेपालीको उद्धार गर्ने तयारी

आज पुस २५ गते शुक्रबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाददेखि मध्यपूर्व जारी तनावको विषयमा समाचारहरु प्रकाशित भएका छन् ।

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको कान्तिपुर दैनिकमा समाचार छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श तीव्र भएका छन् । समय घर्किदै जाँदा सभामुखको विषयलाई नेकपाका अध्यक्षहरुले नै प्रतिष्ठाको विषय बनाउन थालेपछि यसले समग्र राजनीतिमा असर पार्ने देखिएको छ । त्यसको पछिल्लो संस्करण हो नेकपाका प्रस्तावित उपाध्यक्ष वामदेव गौतमको निवास भैसेपाटीमा बुधबार साँझ भएको छलफल । ‘सभामुख पार्टी एकताको समीकरणको असर नपर्ने गरी छान्नुपर्छ भन्ने विषयमा एकमत छौँ,’ छलफलमा सहभागी एक नेताले भने, ‘त्यसो हुँदा प्रधानमन्त्रीजीले आफ्नो अडान छाड्नुपर्छ ।’ बैठकमा गौतमबाहेक अरु नेताले सभामुख पूर्वमाओवादी पक्षबाटै हुनुपर्ने दाहालको कुरामा समर्थन जनाएका थिए । ‘मैले पूर्वमाओवादीबाटै हुनुपर्छ भनेको छु तर ओलीजीले सुन्दै सुन्नुहुन्न । यसले त पार्टी एकतामै असर पार्ने भयो नि,’ दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । एक नेताका अनुसार यसअघि पटकपटक सभामुख भइसकेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाउन प्रधानमन्त्रीले किन अडान लिइरहेका छन् भन्नेबारे पनि कुराकानी भएको थियो । ‘ओलीजीले नेम्वाङका विषयमा किन यति धेरै अडान राख्नुभएको छ, मैले बुझ्न सकिरहेको छैन ।’ गत सोमबार प्रधानमन्त्री ओलीसँग भएको भेटमा दाहालले ‘सभामुखबारे तपाईंको त्यति धेरै अडान छ भने पार्टीको कार्यकारी हुनुहोस्, म प्रधानमन्त्री हुन्छु,’ सम्म भनेका थिए । उनले यसबारे पनि बुधबारको उक्त भेलामा ब्रिफिङ गरेका थिए ।

पत्रिकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच महिनाअघि गरेको तीनवटा टेलिकम कम्पनीको अनुमति पत्र खारेज गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्टाएको समाचार पनि छ । नेपाल स्याटेलाइट टेलिकम प्रालि, स्मार्ट टेलिकम प्रालि र वेबसफैर नेपाल कम्युनिकेसन सिस्टम प्रालिले लाइसेन्सबापतको रोयल्टीलगायतको रकम नतिरेपछि प्राधिकरणले साउन १३ मा अनुमतिपत्र खारेजीको निर्णय गरेको थियो । उक्त निर्णय मन्त्रिपरिषद्ले कम्पनी सञ्चालनकहरुको मागअनुसार उल्टाएको हो । मन्त्रिपरिषद्को सोमबारको बैठकले तीन कम्पनीलाई बाँकी रकम साँवाब्याजसहित पाँच वर्षभित्र बुझाउन समय दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै उनीहरुलाई बक्यौता रकम तिर्न पाँच वर्षको समय दिइएको बताए । मन्त्रिपरिषद्को निर्णयअनुसार तिर्न बाँकी रकमको पहिलो किस्ता यही आर्थिक वर्षको अन्तिमसम्ममा बुझाउनुपर्नेछ । बाँकी रकम पनि प्रत्यो आर्थिक वर्षको अन्तिमममा बुझाइसक्नुपर्नेछ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार नेपाल स्याटेलाइट टेलिकम ९हेल्लो नेपाल० का सञ्चालक अजेयराज सुमार्गी, स्मार्ट टेलिकमका अध्यक्ष सर्भेस जोशी र वेबसर्फरका सञ्चालक सुजन र सुमन क्षेत्री हुन्।

सरकारको निर्णयपछि ३ अर्ब १८ करोड ९९ लाख रुपैयाँ तिर्नुपर्ने तीनवटा कम्पनीले पाँच वर्षको समयसीमा पाएका छन्। स्मार्ट टेलिकमको २ अर्ब ३२ करोड २५ लाख लाख १७ हजार, नेपाल स्याटेलाइटको ८२ करोड ७० लाख रुर वेबसर्फरको ३ करोड ८४ लाख ४ हजार रुपैयाँ तिर्न बाँकी छ। यो गत भदौसम्मको बाँकी रकम हो। अहिलेसम्मको रकम र ब्याज जोड्ने हो भने अझै बढ्ने प्राधिकरणले जनाएको छ।

पत्रिकामा सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस सुरु भएको समाचार छ। गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमले ‘संविधान संशोधन’ को सर्त राखेका थिए। संविधानको धारा ७६ को (१) मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने उल्लेख छ। यो धाराअनुसार राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने छैनन्। तर नेता गौतमले यसलाई संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन्।

नेता गौतमकै निवास भैंसेपाटीमा बुधबार भएको छलफलमा सहभागी प्रधानमन्त्री ओली इतरका नेताहरूले गौतमले उठाउँदै आएको विषयमा पुनः एकपटक प्रधानमन्त्री ओलीसँग नीतिगत छलफल गर्ने समझदारी बनाएको सहभागी एक नेताले बताए। यसअघि प्रधानमन्त्री ओलीले गौतमको सर्त अस्वीकार गरिदिएपछि गौतम ९ माघमा हुन लागेको राष्ट्रियसभा चुनावमा उम्मेदवार नबन्ने निष्कर्षमा पुगेका थिए। नेकपाका ९ सदस्यीय सचिवालय सदस्यमध्ये गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ मात्र संघीय संसद्मा थिएनन्। प्रवक्ता श्रेष्ठ राष्ट्रियसभा सदस्य उम्मेदवार बनेको छन्। गौतमलाई फकाउन र उनले उठाएका सर्त सम्बोधनका लागि नेकपाका अध्यक्ष दाहाल, वरिष्ठ नेता माधव नेपालदेखि अन्य नेता पनि तयार छन्। तर ओली यस विषयमा सकारात्मक छैनन्।

नागरिक दैनिकमा मधेसको विकासमा चिनियाँ चासो शीर्षकमा समाचार प्रकाशित छ । राष्ट्रिय जनता पार्टी (राजपा) को बबरमहलस्थित कार्यालयमा पुगेर चिनियाँ नेताले तराई–मधेसको विकासमा सहयोग गर्ने र लगानी बढाउन प्रतिबद्धता जनाएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीका एसिया व्युरो महानिर्देशक सियु सङ तथा नेपाल–भारत विभागका निर्देशक च्याङ जिउ क्विङले बुधबार राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र नेता महन्थ ठाकुरसँग कुराकानी गरेका हुन् । कुराकानी करिब एक घण्टा भएको जनाएको छ । संयोजक महतोले चिनियाँ नेतासँगको भेटमा आफूहरुले मधेसको अवस्था र देशको समग्र स्थितिको बारेमा जानकारी गराएको बताए । ‘उहाँहरुले नेपालको विकासमा सक्दो सहयोग गर्छौं भन्नुभयो,’ उनले भने । स्रोतका अनुसार दुई देशका नेताहरुबीच भएको भेटमा चिनियाँ कम्युनिस्ट पार्टी र राजपाबीच आपसी सम्बन्ध विस्तार गर्ने विषयमा समेत कुराकानी भएको थियो । राजपाका नेताहरुले नेपालको सन्तुलित विकासमा सहयोग पु¥याउन चिनियाँ नेताहरुसँग आग्रह गरे । उक्त आग्रहलाई चिनियाँ नेताहरुले पनि सकारात्मकरुपमा लिएको राजपाका नेताहरुको भनाइ छ ।

इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने नयाँ पत्रिका दैनिकमा समाचार छ । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ । मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ । बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए । नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क अवस्थामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । ‘अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन । आवश्यक परे नेपाली नागरिकको उद्धार गर्न तत्पर अवस्थामा हामी छौँ,’ उनले भने ।

इराकमा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेरै उद्धार गर्ने तयारीका लागि पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । त्यसको विकल्पमा सरकारले इराकमा रहेका कामदारलई समुद्री मार्ग हुँदै भारत वा साउदी अरबसम्म ल्याउने, भारतसम्म ल्याइएका कामदारलाई बसबाट र साउदी अरबसम्म ल्याइएका कामदारलाई जहाजबाट उद्धार गर्ने गरी योजना बनाएको छ । बैठकले खाडी मुलुकको परिस्थिति र नेपालीको सुरक्षा अवस्था विश्लेषण गर्न परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेको छ । हालसम्म इराकमा युद्धको प्रभाव नपरे पनि सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले खाडी क्षेत्रका सबै राजदूतावासलाई समेत सतर्क रहन निर्देशन दिने पनि निर्णय भएको छ । बैठकले सम्बन्धित मुलुकको पछिल्लो विकासक्रमको अध्ययन गर्ने र नियमित रिपोर्टिङ गर्ने, नेपालीसँग निकट सम्पर्कमा रहने, उनीहरूलाई पनि दूतावासको सम्पर्कमा रहन आग्रह गर्ने र अतिआवश्यकबाहेकको अवस्थामा बाहिर हिँडडुल नगर्न आग्रह गर्ने दूतावासहरूलाई तीनबुँदे सर्कुलर जारी गरेको छ ।

पत्रिकामा सरकारले निःशुल्क वितरण गर्दै आएका केही औषधि खान अयोग्य रहेको पाइएको समाचार पनि छ । बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो । नयाँ पत्रिकाले प्राप्त गरेको दस्ताबेजमा आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ । तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन् ।

०७५/७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो । तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन । अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए । उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन् ।

यी हुन् खान अयोग्य औषधि

– पोभिडोन आयोडिन सोलुसन : विभिन्न घाउका लागि लगाउने झोल ११ ब्याच

– प्यारासिटामोल झोल : ज्वरोका बिरामीका लागि ४ ब्याच

– प्यारासिटामोल ट्याब्लेट : ज्वरोका बिरामीका लागि ३ ब्याच

– फोलिक एसिड : रगत बढाउने १ ब्याच

– मेटफरमिन : मधुमेहका लागि ५ ब्याच

– मेट्रोनिडाजोल : आउँको लागि १२ ब्याच

– सिप्रोफ्लोक्सासिन (एन्टिबायोटिक) : आँखा, नाकमा राख्ने झोल ४ ब्याच

– फेरस—फोलिक एसिड (आइरन—फोलिक एसिड) : रगत बढाउने १ ब्याच

प्रतिक्रिया दिनुहोस्