२५ पुष २०७६, काठमाडौं
सरकारले निः शुल्क वितरण गर्दै आएको केही औषधि खान अयोग्य रहेको पाइएको छ। बढी प्रयोगमा आउने र जीवनभर सेवन गर्नुपर्ने प्रकारका औषधिहरू खान अयोग्य रहेको फेला परेको हो।
प्राप्ता सुचनाका अनुसार आठ प्रकारका निःशुल्क औषधिको ४१ ब्याच पटक–पटक फेल भएको उल्लेख छ। तर, यिनै औषधिहरू अहिले सरकारी स्वास्थ्य संस्थाहरूबाट नियमित रूपमा वितरण भइरहेका छन्।
०७५र७६ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य संस्थाहरूबाट निःशुल्क वितरण हुँदै आएका विभिन्न औषधिको २८५ ब्याच परीक्षण गरेको थियो। तर, अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको छैन। अनुसन्धान परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार सरकारले परीक्षणमा अयोग्य देखिएका औषधि उत्पादक तथा वितरकलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपश्चात् मात्रै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताए। उनले भने, ‘रिपोर्टमा गम्भीर विषय उल्लेख छन्।
कारवाही प्रतिबद्धताविना रिपोर्ट सार्वजनिक गर्दा कमजोर हुन्छ। त्यसैले, हामीले केही समय कुरेका हौँ’ सरकारले हरेक वर्ष दुई अर्ब मूल्यबराबरको निःशुल्क औषधि खरिद गर्दै आएको छ। तर, ती औषधिको गुणस्तरमा ध्यान नदिँदा माटोसरह बनेका छन्। यस्ता औषधिले सर्वसाधारणको जीवनमा असर पारिरहेको छ।
निःशुल्क औषधि वितरणका लागि सरकारले हरेक वर्ष दुई अर्ब रुपैयाँबराबरको औषधि खरिद गर्दै आएको छ। निःशुल्क औषधि फोकल पर्सन भरतमणि मरहठ्ठाका अनुसार निःशुल्क वितरण गर्ने गरी औषधि खरिद गर्न स्थानीय तहलाई एक अर्ब ११ करोड, प्रदेश सरकारलाई २० करोड र संघमार्फत ५४ करोड खर्च हुन्छ।
खान अयोग्य औषधि
-पोभिडोन आयोडिन सोलुसनः विभिन्न घाउका लागि लगाउने झोल ११ ब्याच
-प्यारासिटामोल झोलः ज्वरोका बिरामीका लागि ४ ब्याच
-प्यारासिटामोल ट्याब्लेटः ज्वरोका बिरामीका लागि ३ ब्याच
-फोलिक एसिडः रगत बढाउने १ ब्याच
-मेटफरमिनः मधुमेहका लागि ५ ब्याच
-मेट्रोनिडाजोलः आउँको लागि १२ ब्याच
-सिप्रोफ्लोक्सासिन (एन्टिबायोटिक): आँखा, नाकमा राख्ने झोल ४ ब्याच
-फेरस—फोलिक एसिड ९आइरन—फोलिक एसिडः रगत बढाउने १ ब्याच
खान अयोग्य औषधिमा यस्ता थिए समस्या
-लिकेजः हावा पस्ने र चुहिएको
-एसेःऔषधिको काम गर्ने तत्व सक्रिय नभएको
-डिजोलुसनः औषधिको घुलनशीलता नमिल्ने ती औषधिले शरीरमा कुनै काम नगर्ने
-अनइन्फमिटीः एउटै औषधि तर एक ट्याब्लेट र अर्को ट्याब्लेटको गुणस्तर फरक
-फ्रायबलिटीः औषधि आफैँ टुक्राटुक्रा हुने