१७६ यात्रु सवार विमान इरानले नै खसाएको पुष्टि



२६ पुष २०७६, काठमाडौं

१७६ यात्रुको ज्यान जानेगरी इरानले नै युक्रेनी जहाज खसालेको पुष्टि भएको छ।

इरानी सेनाले गल्तीबस् विमानमा क्षेप्यास्त्र आक्रमण गरिएका कारण विमान खसेको भन्दै माफी मागेको छ। राष्ट्रपति हसन रुहानीले पनि एक ट्वीट गर्दै सेनाको आन्तरिक छानबिनबाट पनि मानवीय त्रुटीका कारण गल्तीबस् विमानमा मिसाइल प्रहार भएको र भयावह दुर्घटना भएको स्वीकार गरेका छन्।

उक्त दुर्घटना माफीयोग्य नभएको भन्दै उनले निकै ठूलो वियोगको रुपमा अर्थ्याएका छन्। मिसाइल हानेर खसालिएको विमान अमेरिकी कम्पनी बोइङले बनाएको ७३७ सिरिजको थियो।

युक्रेनी अन्तर्राष्ट्रिय वायुसेवाको यो विमानले उडान भर्नासाथ बुधबार बिहान इरानको राजधानी तेहरानको बाहिरी भागमा मिसाइल लागेर खसेको थियो।

युरोपेली र अमेरिकी मुलुकको खुफिया एजेन्सीले मिसाइल हानेर विमान खसालेको भनेपनि इरानले यसलाई स्वीकारेको थिएन। सोही बिहान इरानले आफ्ना सैन्य जनरल कासिम सुलेमानीको हत्या बदलामा इराकस्थित अमेरिकी सेनाका क्याम्पहरुमा मिसाइल हानेको थियो।

निकै तनावपूर्ण स्थितिबीच युक्रेनी जहाज अस्त्रयुद्धको शिकार भएको बताइएको छ। युक्रेनको राजधानी किभतर्फ उडान भर्दै गरेको उक्त जहाजमा उडान दलका नौ सदस्य र १६७ यात्री सवार थिए।

इरानका ८२, क्यानडाका १२ र युक्रेनका ११ नागरिक पनि विमानमा भएको मिसाइल आक्रमणको शिकार भएका छन्।

सेनाको बयानमा भनिएको छ, ‘यो विमान रिभोल्युस्नरी गार्डको सैन्य क्षेत्रको निकै नजिक आएको थियो। मानवीय भूल भयो र विमानमाथि मिसाइल आक्रमण भयो। यसमा जसले गल्ती गरेको छ। उ माथि कारबाही हुन्छ। सबै सैनिक फोर्सहरुको कारबाहीमा व्यापक सुधार गरिनेछ, ताकि फेरि यस्तो गल्ती नहोस्।’

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्