मस्जिदमा विस्फोटः ४५ जनाको मृत्यु, १९ घाइते



२६ पुष २०७६, काठमाडौं

पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा एक प्रहरी अधिकृतसहित १४ जनाको ज्यान गएको छ।

पाकिस्तानको क्वेत्तास्थित मस्जिदमा शुक्रबार साँझ विस्फोट हुँदा त्यहाँ रहेका अन्य १९ जना घाइते भएका छन्। मस्जिदमा प्रार्थनाको अवधिमा विस्फोट भएको बताइएको छ।

क्वेत्ता प्रहरी प्रमुख अब्दुल्लाह अफ्रिदीका अनुसार उक्त आत्मघाती हमला थियो। घटनापछि सशस्त्र लडाकू समूह डाएसले विज्ञप्ति निकाल्दै घटनाको जिम्मा लिएको छ।

उक्त हमलामा अफगान तालिबानलाई लक्षित गरिएको डाएसले जनाएको छ। जब कि, तालिबान प्रवक्ता क्वरी मुहम्मद युसफले हमलाको अवधिमा कोही पनि तालिबान नेता मस्जिदमा नभएको प्रतिक्रिया दिएका छन्।

घटनाका घाइतेहरुलाई क्वेत्ता सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ। क्वेत्ता बलोचिस्तान प्रान्तको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। घटनास्थलमा उद्धारका लागि सेना परिचालन भएको छ।

प्रधानमन्त्री इमरान खानले घटनाको कडा शब्दमा विरोध जनाउनुका साथै दुख व्यक्त गरेका छन्। यस्तै घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली ज्ञापन गरेका छन्।

यसैगरी प्रधानमन्त्री खानले घाइतेहरुको सक्दो छिटो र राम्रो उपचार गर्न आदेश दिएका छन्। विदेशमन्त्री शाह मोहमुद कुरैसीले पनि घटनालाई ‘पाकिस्तानको अस्थिरताका लागि निच षड्यन्त्र’ भन्दै विरोध जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्