प्रेस रिभ्यू : प्रम ओली टसमस नुहँदा प्रचण्ड सकसमा, उपसभामुख पनि आफ्नै अडानमा



आज पुस २७ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिकमा सभामुख चयनमा देखिएको अन्यौलताका बारेमा समाचार प्रकाशित छन् ।

सत्तारुढ नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि सभामुख चयन प्रक्रिया अन्यौलमा परेको छ । कार्यतालिकाअनुसार सभामुखको निर्वाच्न प्रक्रिया सुरु गर्न प्रतिनिधिसभाको बैठक आइतबार बस्नुपर्ने हो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेकाले बैठक बोलाउने, नबोलाउने अन्यौल बढेको संसद् सचिवालय स्रोतले जनाएको कान्तिपुर दैनिकमा समाचार छ । ‘नेकपाका तर्फबाट अहिलेसम्म खबर आएको छैन, सम्भवतः आइतबार पनि सभामुखको चुनवाी प्रक्रियामा जान सकिँदैन होला,’ संसद् सचिवालय स्रोतले भन्यो, ‘बैठक बोलाएर सभामुखको चुनावी प्रक्रिया अलि ढिलो सुरु गर्न पनि सकिन्छ ।’ यसअघि दुई पटकसम्म दुई दिनभित्रै सभामुख चयन गर्ने गरी कार्यतालिनका तय गरिएको थियो । तर नेकपाले उम्मेदवार टुङ्गो लगाउन नसकेपछि पुस ११ र १६ मा बोलाइएको संसद् बैठक सूचना टाँसेर स्थगित गरिएको थियो ।

नागरिक दैनिकका अनुसार प्रतिनिधिसभाको सभामुख चयनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अडान नछाडेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । ओली सरकार सञ्चालनमा सहयोग पुग्नेगरी आफूले चाहेको पात्रलाई नै सभामुख बनाउने अडानमा छन् । बालुवाटारमा शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओली स्वास्थ्यका कारण उपस्थित हुन नसकेपछि सभामुख चयनबारे कुनै छलफल हुन सकेन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन लगाउने निर्णय गरेर मात्रै उक्त बैठक टुङ्गियो । ओली मिर्गौला डायलाइसिस गराएर आरम गरिरहेका कारण बैठकमा उपस्थित नभएका हुन् । बैठकमा कार्यकारी अध्यक्ष दाहालले ओलीकै सहमतिमा उपसभामुखलाई पदबाट राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरिएको स्पष्ट पारे । नेकपाले सभामुख पदमा उम्मेदवारी दिन पनि उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिनुपर्ने हुन्छ । उपसभामुख पदबाट उनले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउन सक्छ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा नदिने, बरु संसद् बैठक सञ्चालन गर्ने चेतावनी दिएकी छन्। सत्तासीन नेकपाले राजीनामा मागेपछि ‘पार्टीको निर्णयबारे आफूलाई जानकारी नभएको’ भन्दै उपसभामुखबाट राजीनामा नदिने तुम्बाहाङफेले बताएकी हुन्। ‘म राजीनामा दिन्न, आइतबारको संसद् बैठक सञ्चालन गर्छु’, तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्। पार्टीले राजीनामा माग्ने कुरा अनौठो नभएको तुम्बाहाङफेले बताइन्। ‘राजीनामा माग्ने कुरा नियमित प्रक्रिया हो। दलहरू प्रक्रियामा अघि बढ्छन्, मेरो राजीनामा मागिएको विषय मलाई थाहा छैन’, तुम्बाहाङफेले भनिन्। प्रधानमन्त्रीबिनाको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली अनुपस्थित थिए। ‘तपाईंहरू सल्लाह नै गरिरहनुभएको छ नि १ मिटिङ राख्नुहोस्, सल्लाह गर्नुहोस्। म रेस्टमा हुन्छु’, प्रधानमन्त्री ओलीले बैठकअघि नेताहरूलाई भनेका थिए। शनिबार मिर्गौला डायलासिस गरेपछि प्रधानमन्त्री ‘रेस्ट’ मा रहेका बेला सचिवालय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संसद्मा झण्डै दुई तिहाइ बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार तय नगर्दा संसद् बैठक झन्डै एक महिनादेखि अवरुद्ध छ। पुस ४ गते संसद् अधिवेशनको पहिलो दिन औपचारिक पूरा गर्नुबाहेक संसद्का बैठक तीन पटक सूचना टाँसेर स्थगन गरिएका छन्। संसद्को बैठक आइतबार बोलाइएको छ।

नागरिक दैनिकमा छाउपडी कुप्रथाका कारण १० वर्षमा १४ किशोरीको मृत्यु भएको समाचार छ । महिनावारी हुँदा घरभन्दा टाढा एकान्तमा बनाइएको छाउगोठमा एक्लै बस्नुपर्दा अछाममा कयौं किशोरी र महिलाले छाउगोठमा मृत्युवरण गर्नुपरेका कहालीलाग्दा कथा छन्। अरूतिर महिनावारी हुँदा घरभित्रै अलग बस्ने चलन भए पनि सुदूरपश्चिमका अछामलगायत दुर्गम बस्तीका महिलाहरू एकान्तमा बनाइएको छाउगोठमा बस्ने कुप्रथा छ। यी छाउगोठ महिनावारी भएका बेला वास बस्ने महिनाका लागि ज्यानमारा धरापसरह थिए। विषालु सर्प हुने, फोहोरले विभिन्न रोगको संक्रमण भएर र न्यानो ओढ्ने लुगा नहुँदा जाडोले र आगोको धुवाले निसासिएर कयौं महिलाको अकालमै मृत्यु भएको स्थानीय बताउँछन्। जिल्ला प्रहरी कार्यालय तथा महिला विकास शाखा अछामका अनुसार अछाममा १० वर्षयता छाउगोठमा किशोरी तथा महिला गरी १४ जनाको मृत्यु भइसकेको छ। छोरी, बुहारी, दिदी–बहिनीको महिनावारी भएको बेला गोठमै मृत्यु हुँदासमेत अधिकतर महिलाहरू गोठमै सुत्ने गरेका थिए। परिवारको सदस्य गोठमै गुमाउनुपरेको पीडा बोक्दै किशोरी तथा महिलाहरू आफ्नोसमेत ज्यान जोखिममा राखेर गोठमै बसिरहेका हुन्। सरकारको निर्देशनपछि २०६२ सालमा कुरीति घोषणा गर्दै छाउपडी प्रथा उन्मुलनसम्बन्धी निर्देसिका २०६४ समेत जारी गरिएको थियो। सरकारले कुरीति घोषणा गरेको ११ वर्ष भइसक्दासम्म पनि छाउपडी प्रथा पूरै हट्न सकेको थिएन। राष्ट्रसंघको मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा–पत्रमा, नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३ महिला अधिकारमा धार्मिक, सामाजिक, प्रचलन वा अन्य कुनै कारणले महिलामाथि हिंसा तथा भेदवाव गर्न नपाइने व्यवस्था गरिएको छ। यतिबेला अछामलगायत सुदूरपश्चिमका सबैतिर छाउपडी गोठ भत्काउने अभियान चलिरहेको छ। सबैभन्दा बढी अछाममा छाउगोठ रहेका छन्। अहिलेसम्म अछाममा एक हजार तीन सय ५५ वटा छाउगोठ भत्काइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताएका छन्।

कान्तिपुर दैनिकमा अबको मुख्य सचिव को भन्ने शीर्षकमा समाचार छ । छ महिनाअघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास प्राप्त सचिव प्रेमकुमार राईलाई मुख्यसचिव बनाउन लागेको चर्चा निकै चलेको थियो । गत साउन २१ मा राईभन्दा वरिष्ठ सचिवत्रय अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्मा र विष्णु लम्सालले ५ वर्षे पदावधि पूरा गरी अनिवार्य अवकाश पाएपछि उनी वरिष्ठताका नाताले समेत मुख्यसचिव हुने बाटो खुलेको मानिएको थियो । मन्त्रिपरिषद्मा सरकार प्रमुखको निकट भएर काम गर्नुपर्ने भएकाले मुख्यसचिव प्रधानमन्त्रीको विश्वासपात्र व्यक्ति हुनुपर्ने भएकाले स्वभाविक रुपमा ओलीको प्रमुख रोजाइमा राई थिए । सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीलाई आकर्षक मुलुकमा राजदूत नियुक्ति गरी पद खाली गराएर राईलाई बढुवा गरी निजामति प्रशासनको नेतृत्व सुम्पने तयारीसमेत सुरु गरेको थियो । प्रधानमन्त्री ओलीले रेग्मीलाई राजदूत हुने मुलुक रोज्न समेत आग्रह गरिसकेका थिए । ‘राईको उमेरका कारण पूरै तीन वर्ष मुख्यसचिव नहुनेपछि प्रधानमन्त्री ओली राईलाई मुख्यसचिव बनाउने तयारीबाट पछि हटेका हुन्,’ मन्त्रिपरिषद् कार्यालय स्रोतले भन्यो । ५८ वर्षे उमेर हदका कारण राई एक वर्षभन्दा कम समयमात्र मुख्यसचिव हुन्थे । राईले सचिवको पाँच वर्षे पदावधि पूर ागरी आगामी माघ २१ गते अनिवार्य अवकाश पाउँदैछन् ।

अन्नपूर्ण पोष्ट दैनिकमा फार्ममा लगानी १५ करोड, छैनन् गाई शीर्षकमा समाचार छ । भीमेश्वर नगरपालिका(८ बोचमा १५ करोड लगानीमा सुरु गरिएको गाई फार्म अलपत्र छ। ६ सय क्षमताको दक्षिण एसियाकै ठूलो भन्दै ८ वर्षअघि सुरु गरिएको फार्ममा अहिले न गाई छन्, न सञ्चालक नै सम्पर्कमा छन्। फार्मकै लागि भनेर ६ वटा सामुदायिक वनको करिब ३ हजार रोपनी वन पनि फाँडेर स्वाहा पारिएको छ। नेपाल डेरी उद्योग संघका पूर्वअध्यक्ष एवं कालिञ्चोक काउफार्म एन्ड रिसर्च सेन्टरका प्रमुख रामकुमार खड्काले सरकारी सहयोगमा खोलेको गाई फार्म अलपत्र छाडेर सम्पर्कविहीन छन्। दैनिक डेढ लाख लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ०६८ देखि काम सुरु गरिएको रिसर्च सेन्टरले फार्मलाई अलपत्र छाडेको हो। यो फार्म काठमाडौंबाट एक सय २० किलोमिटरको दूरीमा पर्छ। फार्ममा बनेका अधिकांश संरचना अलपत्र छन्। पब्लिक प्राइभेट पार्टनरसिप पद्धतिबाट सुरु गरिएको गाई फार्ममा सरकारको करिब ८ करोड लगानी छ। गाईपालनका लागि अत्याधुनिक गोठ बनेका छन्। ती गोठको भुइँ, छाना र भित्तामा काठको फ्लोरिङ ओच्छ्याइएको छ। घना जंगल मासेर भव्य कटेज बनेका छन्।

पत्रिकामा क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर हत्या गर्न लगाएको रहस्य सार्वजनिक भएको समाचार छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले किचेर हत्या गरिएको थियो। चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको हत्या गराएको स्रोतले दाबी गरेको छ। उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए। किचेर हत्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मार्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग हत्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

नयाँ पत्रिका दैनिकमा काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २५ भदौ ०७६ मा समिति गठन गरेको थियो । मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा। तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्करराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्यवस्था विभागका प्रतिनिधि पनि थिए । बल्खुस्थित वयोधा अस्पतालले सन् २०१५ देखि ०१८ सम्म सात सय विदेशी पर्यटकलाई स्वास्थ्य सेवा दिएको थियो । तर, अध्ययन टोलीको प्रतिवेदनअनुसार सो अस्पतालमा एउटै बिरामीलाई १७ दिनमा विशेषज्ञ डाक्टरले एक सय नौपटक ‘राउन्ड सर्भिस’ दिएको बिल बनाइएको थियो । ‘तर, अस्पतालको आन्तरिक अभिलेखमा भने एकजना मात्र विशेषज्ञ डाक्टरले सेवा दिएको पाइएको छ,’ प्रतिवेदन भन्छ, ‘एउटै बिरामी एकै समयमा एसआइसियू, आइसियू, डिलक्स रुम र स्विट रुममा भर्ना भएको भनेर बिल चार्ज गरिएको छ ।’ अस्पतालको चार्जलिस्टमा डिलक्स रुमभन्दा सिसियू महँगो छ । तर, विदेशी पर्यटकसँग सिसियूभन्दा डिलक्स रुमको बढी पैसा उठाइएको छ । टोखाको ग्रान्डी अस्पतालले त रगतमा पनि पर्यटकबाट दुई हजार चार सय ५३ रुपैयाँ उठाएको छ । ‘नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, त्यस्तै रेफर भएर आएका बिरामीलाई पहिलो अस्पतालले गरेको जाँच फेरि गर्न लगाइयो, बिरामीसँग लिइएको शुल्क तोकिएकोभन्दा बढी लिएको पाइयो,’ प्रतिवेदनले भनेको छ ।

पत्रिकामा नेपाल आयल निगमले ३५ अर्ब सञ्चित नोक्सानी पूर्ति गर्दै विगत केही वर्षदेखि नाफामा जान थालेपछि कर्मचारीलाई बोनस बाँड्ने निर्णय गरेको छ । निगमको बिहीबार बसेको बैठकले आर्थिक वर्ष ०७५–७६ को नाफाबाट एक प्रतिशत रकम बोनसबापत वितरण गर्ने अधिकार व्यवस्थापनलाई दिएको हो । त्यति मात्रै होइन, निगमको शनिबार आयोजित ५०औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई थप एक महिनाको तलब पुरस्कारस्वरूप दिने घोषणा गरियो ।चार वर्षअघिसम्म निगमको सञ्चित घाटा ३५ अर्ब रुपैयाँ थियो । थप ३६ अर्ब रुपैयाँ ऋण थियो । यसबीचमा निगम सञ्चित नोक्सानी र ऋण चुक्ता गरेर चार वर्षदेखि निरन्तर नाफामा छ । खरिद मूल्यको तुलनामा दोब्बर मूल्यमा पेट्रोलियम पदार्थ बेची निगमले नाफा आर्जन गर्ने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपालमा पनि बढाउने, तर बाहिर घट्दा यहाँ मूल्य नघटाएर चर्को नाफा कमाउने रणनीति निगमले अँगाल्दै आएको छ । गत आव ०७५/७६ मा करकट्टीपछिको खुद नाफा चार अर्ब कमाएको निगमले चालू आवको अहिलेसम्म तीन अर्बभन्दा बढी नाफा कमाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्