२७ पुष २०७६, काठमाडौं
प्रदेश नं. ३ अब बागमती प्रदेश भएको छ। प्रदेशको राजधानी र नाम सम्बन्धी निर्णय लिन आइतबार बसिरहेको प्रदेश सभा बैठकले प्रदेशको नाम बागमती राख्ने एकल प्रस्तावको पक्षमा बैठकमा सहभागी सबै सदस्यहरुले मतदान गरेका छन्।
बैठकमा प्रदेश सभाका एक सय १० मध्ये एकसय आठ सदस्य सहभागी थिए। विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशको नाम बागमती राख्ने प्रस्ताव दर्ता गरेका थिए।
बागमती नाम राख्ने प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लगायतका दलले समर्थन जनाएका थिए। प्रदेशको नामको पक्ष र विपक्षमा मतदानपछि निर्णय सुनाउँदै प्रदेश सभा प्रमुख सानुकुमार श्रेष्ठले सर्वसम्मतले प्रदेश नं. ३ को नाम बागमती राख्ने निर्णय भएको घोषणा गरे।
यसअघि आइतबार नै बसेको प्रदेश सभा बैठकले प्रदेशको राजधानी हेटौंडा राख्ने निर्णय गरेको थियो। सभामुख सानुकुमार श्रेष्ठले १५ का लागि बैठक स्थगित गरेर प्रदेशको नामसम्बन्धी निर्णय लिन पुनः बैठक बोलाएका थिए।
प्रदेश सभाले प्रदेशको राजधानी र नाम सम्बन्धी कार्यविधिलाई संशोधन गर्दै शनिबार बिहान प्रदेश सभा सचिवालयमा राजधानी र नाम प्रस्ताव गर्ने व्यवस्था गरेको थियो। सो कार्यविधि बमोजिम शनिबार बिहान प्रदेश राजधानीका लागि हेटौंडा र धुलीखेल तथा नाम बागमती राख्ने प्रस्ताव दर्ता भएको थियो।
यसअघिको कार्यविधि बमोजिम प्रदेशको नाम नेवा–ताम्सालिङ, नेपालभण्डल र गौरीशंकर राख्ने प्रस्ताव दर्ता भएका थिए। राजधानीका लागि काभ्रे, नुवाकोट, भक्तपुर नाम दर्ता भएका थिए ।
कांग्रेसका संसदीय दलका नेता बानियाँले नाम बागमती राख्नुपर्ने प्रस्ताव दर्ता गरेका थिए। उनको प्रस्तावमा नेकपाले समर्थन जनाएको थियो ।