२७ पुष २०७६, काठमाडौं
उपसभामुख शिवमाया तुम्बाहाम्फेले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आइतबार (आज) बिहान बसेको बैठकमा आफूलाई राजीनामा दिन लगाउने निर्णय लेख्ने को हो भनेर प्रश्न गरेकी छिन्।
यसअघि बैठक चलाउने तयारीमा रहेकी तुम्बाहाम्फेलाई प्रधानमन्त्री समेत रहेका पार्टीअध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डले आइतबार बिहान छलफलका लागि बालुवाटार डाकेका थिए। त्यसपश्चात् त्यहाँ पुगेका उनले यस्तो प्रश्न गरेकी हुन्।
उक्त छलफलमा महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी थिए। स्रोतका अनुसार छलफलमा तुम्बाहाम्फेले शनिबार बसेको नेकपा सचिवालय बैठकले आफूलाई राजीनामा दिन लगाउने निर्णयबारे जिज्ञासा राखेकी थिइन्।
‘त्यो निर्णय कसले लेखेको हो? भनेर उहाँले सोध्नुभयो।’ बैठकमा सहभागी एक नेताले भनेका छन्। ‘महासचिव कमरेडले मैले लेखेको हो भनेपछि तपाईंको निर्णय तपाईंसँगै राख्नुस् भन्ने जवाफ दिनुभयो।’
वातावरण असहज भएपछि अध्यक्ष प्रचण्डले तुम्बाहाम्फेलाई नेकपाले सभामुखमा दाबी गरेकाले त्यसका लागि पनि उपसभामुख खाली गर्नुपर्ने भएकाले राजीनामाको कुरा आएको बताएका थिए।
जवाफमा तुम्बाहाम्फेले संविधानको त्यो व्यवस्था आफूलाई पनि राम्ररी थाहा भएको बताइन्। उनले संसद सार्वभौमसत्ता सम्पन्न भएको र त्यसको प्रमुखलाई पार्टीले राजीनामा देऊ भन्न नमिल्ने धारणा राखेकी थिइन्।
आज दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक आगामी ६ माघसम्मको लागि सारिएको छ।
फाइल तस्वीर