२७ पुष २०७६, काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा पल शाह र आँचल शर्मालाई आँप जोडीको रुपमा दर्शकले चिन्ने गरेका छन् । यी दुईको जोडीलाई दर्शकले औधी रुचाएका पनि छन् । पल र आँचलले पहिलो पटक चलचित्र नाई नभन्नु ल ४ मा एकसाथ काम गरेका थिए । त्यससमय देखि नै यी दुईको जोडी दर्शकको नजरमा पर्न सफल भएको हो ।
आँचल र पलले जोनी जेन्टलम्यान, शत्रु गते लगायतका चलचित्र र थुप्रै म्यूजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । पल र आँचललाई रियल लाइफ कपल भएको हेर्ने चाहना दर्शकको निकै रहेको थियो । तर केहीसमय अघिमात्र आँचलले डा.उदिप श्रेष्ठको प्रेममा आफू रहेको खुलाइन् ।
त्यसबेला पल र आँचलका फ्यान भड्किएका पनि थिए । आँचलले धेरै गाली पनि खाइन् । पल त्यसबेला मौन थिए । तर अहिले भने आँचलको प्रेमबारे केही बताएका छन् । उनले दर्शकले कपलको रुपमा आँचलसँग उनको जोडी बनाएको भएतापनि सुरुवात दिनदेखि नै आँचल र आफू एकअर्काको मिल्ने साथी मात्र भएको बताए । हुन त यो कुरा पल र आँचलले धेरै पटक नै भनिसकेका थिए ।
उनले आँचलको लागि आफू निकै खुसी भएको बताए । आँचलले विवाह गर्न लागेको खबरले पनि आफूलाई खुसी बनाएको उनले बताए । पलले फ्यानलाई आँचललाई गाली नगर्नको लागि पनि आग्रह गरे । साथै उनले दर्शकले बनाइदिएको आँप जोडी कहिल्यै पनि नटुट्ने समेत दाबी गरे ।
पछिल्ला दिनहरुमा आँचल र पलको सम्बन्ध चिस्सिएको खबर पनि आइरहेको थियो । यसबारे पनि पलले स्पष्टिकरण दिएका छन् । उनले आँचलसँगको उनको सम्बन्ध कहिल्यै नबिग्रने र आफूहरु सधैँ एकअर्कासँग काम गरिरहने बताए ।