२७ पुष २०७६, काठमाडौं
पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको नाममा धेरै धुपबत्ती गर्नु नपर्ने उल्लेख गरेका छन्।
अध्यक्ष भट्टराईले आइतबार (आज) शाहको जन्मदिनकै दिन आफ्नो आधिकारिक ट्वीटरमार्फत् शाहले गोरखा राज्यलाई विस्तार गरेको र त्यही अनुरूप सम्झिए पुग्ने बताउँदै हरेक वर्षको २७ पुष आउने बित्तिकै एकाथरीले देवत्वकरण र अर्काथरीले दानवीकरण गर्नु शोभनीय नभएको टिप्पणी गरेका हुन्।
“धेरै धुपबत्ती गरिरहनुपर्दैन! दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्नवाध्य पृनाको आत्मलाई खुशी पार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२ घण्टा काम गरेर देशलाई धनी बनाऊँ! अर्कोतिर त्यस बेलाको चेतनामा संघीय राज्य सम्भव थिएन। गाली पनि नगरौं।” उनले ट्वीटरमा उल्लेख गरेका छन्।
राम्रै भयो!त्यही रूपमा उनलाई सम्झे पुग्छ!धेरै धूपवत्ति गरिरहनुपर्दैन!दरौंदीमा खेल्दा भोकाएर केशव द्वारेको उखु चोर्नवाध्य पृनाको आत्मालाई खुशीपार्ने हो भने उनको जन्मदिनमा छुट्टी हैन १२घण्टा काम गरेर देशलाई धनी बनाऊँ!अर्कोतिर त्यसवेलाको चेतनामा संघीयराज्य सम्भव थिएन!गाली पनि नगरौं!
— Baburam Bhattarai (@brb1954) January 12, 2020
विसं १७७९ को २७ पुषमा जन्मेका शाहले स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गरेका थिए। यसैकारण उनलाई आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा लिइनछ।
शाहको सम्झनामा प्रत्येक वर्षको २७ पुषमा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।