अमेरिकामा शक्तिशाली आँधीः १२ को मृत्यु, १२०० उडान रद्द



२७ पुष २०७६, काठमाडौं

अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ।

आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन्। घटनामा परी मृत्यु हुनेमध्ये एकजना प्रहरी र एकजना उद्धारकर्तासमेत रहेका जनाइएको छ।

टेक्सासको लुब्बुकमा शनिबार बिहान आएको आँधीमा परी उनीहरुको मृत्यु भएको हो। त्यसैगरी, ओक्लाहोमामा पनि बाढी र वर्षासँगै आँधी आएको थियो। त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधनहरू बाटोमै रोकिएका थिए।

बृद्धबृद्धाको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एकजनाको इओवामा मृत्यु भएको छ। आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौं घरहरूमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौँ मानिसहरू विद्युत सेवाबिहीन अवस्थामा रहेका छन्।

यस्तै, कतिपय राजमार्गहरू बन्द भएका छन्। विषेश गरी ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन्। त्यसैगरी सिकागोका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने १२ सयभन्दा बढी उडान सेवा स्थगित भएको अधिकारीहरूले जनाएका छन्।

विमानस्थलका अधिकारीहरूका अनुसार ओहारे अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दा बढी उडान स्थगित भएका हुन्। शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवाहरु बन्द गरिएको उनीहरुको भनाई छ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्