२९ पुष २०७६, काठमाडौँ
रेखा थापा नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री हुन् । त्यसबाहेक उनी एक सशक्त वक्ता पनि हुन् । आफ्ना मनका लागेका कुरा उनी बिना संकोच निर्धक्क भएर व्यक्ति गर्ने गर्छिन् ।
यस्तै रेखा पत्रकार तथा लेखक डिबी खड्काद्धारा लिखित पुस्तक नियत को विमोचन कार्यक्रममा पुगेकी थिइन् । उनले उक्त कार्यक्रममा बोल्दै पहिरन हेरेर समाजले मानिसको चरित्र निर्धारण गर्ने गरेको बताइन् ।
रेखाले यो कुरा आफूलाई गलत लाग्ने पनि बताइन् । उनले कुनैपनि व्यक्तिको चरित्र उसले लगाएको कपडाको आधारमा मूल्यांकन गर्नु विल्कुलै गलत भएको बताइन् ।
‘कोही महिलाले छोटो पहिरन लगाउँदैमा, स्विमिङ कस्ट्युम लगाउँदैमा वा हातमा बियरको बोतल लिँदैमा उसलाई चरित्रहीन भनिन्छ । हिरोइनको पहिरन किन यति बिघ्न चरित्र नाप्ने यन्त्र हुन्छ ?’, उनले प्रश्न गरिन् । एक समय उनीमाथि कमेडियनहरुले ‘कि रेखाको चल्छ कि देखाको चल्छ’ भनेर व्यंग्य गर्थे । अभिनेत्री रेखाको लुगा सलाईको डिब्बामा अट्छ भन्ने टिप्पणी पनि हुन्थ्यो ।