‘तुम्बाहाङ्फे नै सभामुखको सशक्त उम्मेदवार’



२९ पुष २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले उपसभामुख शिवमाया तुम्बाहाङ्फे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताएका छन्।

मंगलबार (आज) प्रेस संगठन लमजुङले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दे प्रवक्ता श्रेष्ठले सभामुखको सशक्त उम्मेदवार तुम्बाहाङ्फे नै भएको बताएका हुन्। प्रतिनिधि सभाको उपसभामुख बनिसकेकाले तुम्बाहाङ्फे पार्टीको तर्फबाट सभामुखको सशक्त उम्मेदवार भएको प्रवक्ता श्रेष्ठको भनाई थियो।

संविधानतः उपसभामुखले राजीनामा नदिएसम्म संसद्‍को सबैभन्दा ठूलो दल नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उनलाई राजीनामा दिन पार्टीले आग्रह गरेको प्रवक्ता श्रेष्ठले बताए।

‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ। यो स्वभाविक पनि हुन्छ। तर उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ। सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘अब पहिला उहाँले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो बाटो खुलेपछि हाम्रो पार्टीको एउटा सशक्त दाबेदार उहाँ पनि भएको सबैलाई थाहा छ।’

प्रवक्ता श्रेष्ठले उपसभामुखले संसदको ठूलो दल नेकपाले नै समामुख गुमाउने अवस्था सिर्जना हुँदासम्म राजीनामा नदिनु लोकतान्त्रिक मान्यता विपरीत भएको बताए। ‘सभामुख संसद्‍को सबैभन्दा ठूलो दल हाम्रो पार्टीले नपाउने स्थिति सिर्जना गर्नु पार्टीको हित चाहने र लोकतान्त्रिक मान्यता स्वीकार गर्ने पक्षका निम्ति हितकर कुरा होइन’ उनले भनेका छन्।

प्रवक्ता श्रेष्ठले उपसभामुखलाई संवैधानिक प्रावधानलाई बुझ्न अनुरोध समेत गरेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्