२९ पुष २०७६, काठमाडौं
पूर्व शिक्षामन्त्री तथा राष्ट्रियसभामा नेकपाका तर्फबाट संसदीय दलका नेता दिनानाथ शर्माले नक्कली लाइसेन्सका कारण सवारी दुर्घटना बढेको बताएका छन्।
मंगलबार (आज) राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै नेता शर्माले मन्त्रीले हेर्न चाहने हो भने नक्कली लाइसेन्सधारी १५/२० जना युवा समितिमा ल्याउन सक्ने बताए।
उनले आफ्नो जेठो छोराले लाइसेन्स लिन ४ पटक प्रयास गर्दा पनि ट्रायल फेल भएको बताउँदै आफ्नो पीएसओसँग गाडी चलाउन नजाने पनि सवारी चालक लाइसेन्स रहेको बताए।
“अहिले धेरै सडक दुर्घटना फर्जी लाइसेन्स लिने चालकका कारण भएको छ। मेरो जेठो छोराले लाइसेन्स लिन ४ पटकसम्म गाडीको ट्रायल दियो तर फेल भयो। तर मेरो पीएसओसँग लाइसेन्स थियो। उसले गाडी चलाउन जानेको थिएन। जनमुक्ति सेनाबाट आएको पीएसओले गाडि चलायो। तीन चार ठाउँमा ठोक्यो। पैसा पनि उसैले तिर्यो।” उनले भने।
यस्तै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङलाई सरकारले ड्राइभिङ स्कूलको व्यवस्था गर्न समेत आग्रह गरे। ‘भौतिक पूर्वाधार मन्त्रालयले ड्राइभरलाई तालिम दिने स्कूल बनाउनुपर्छ मन्त्री ज्यू। त्यो स्कूलबाट पास भएका व्यक्तिहरुलाई यातायात व्यवस्था विभागले लाइसेन्स दिने व्यवस्था भयो भने मात्रै सडकमा परिवर्तन आउन सक्छ।’ उनले भने।