इरानले मिसाइलमार्फत् खसालेको विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ



०१ माघ २०७६, काठमाडौं

तेहरानको आकाशमा मिसाइल हानेर खसालिएको युक्रेनी विमानको भिडियो खिच्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्तिलाई राष्ट्रिय सुरक्षासम्बन्धी आरोप लाग्ने आशंका छ। पीएस ७५२ विमान बुधबार तेहरानबाट उडेलगतै खसालिएको थियो। मिसाइल आक्रमणमा परेर खसेको विमानमा सवार सबैको ज्यान गएको थियो।

इरानले ढिलोगरी भुलवश विमान खसालेको स्वीकारेको छ। घटनामा संलग्न कैयौं व्यक्तिलाई पक्राउ गरेको छ। राष्ट्रपति हसन रुहानीले घटनाको अनुसन्धान विशेष अदालतको निगरानीमा हुने बताएका छन्।

♦युक्रेनी विमान खसालिएको घटनासँग सम्बन्धित कैयौं मानिस पक्राउ

“यो सामान्य घटना होइन। सम्पूर्ण संसारको ध्यान यो अदालतमा हुनेछ।” उनले भनेका छन्।

इरानी मिडियाको समाचार अनुसार रिभोलुसनरी गाड्र्सले अघिल्लो हप्ता एक व्यक्तिलाई भिडियो पोष्ट गरेको आरोपमा पक्राउ गरेको थियो।

तर, शुरुमा भिडियो पोष्ट गर्ने लण्डन निवासी इरानी पत्रकारले उनको स्रोत सुरक्षित रहेको र इरानले गलत व्यक्ति पक्राउ गरेको बताएका थिए।

मंगलबार सबेरै, इरानी न्यायापालिकाका प्रवक्ता घोलमहुसेन इस्माइलीले जहाज खसालेको घटना सम्बन्धमा कैयौं व्यक्ति पक्राउ गरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्