
०३ माघ २०७६, काठमाडौं
अन्नपूर्ण आधार शिविर हिँडेका ५ विदेशी पर्यटक सम्पर्कबिहीन भएका छन्।
चार कोरियाली र एक चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा रहेका छैनन्।
यसैगरी नेपाली भरियासहित गएका एक चिनियाँ पर्यटक पनि सम्पर्कमा नरहेको घिमिरेको भनाई छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–११ हिमालय र देउराली भन्ने स्थानको बिचमा हिमपहिरो आएपछि उनीहरु सम्पर्कमा रहेका छैनन्।
सोही वडाको दोभानस्थित होटल डेस्टीनेसन एबीसी होटलका सञ्चालक सुक गुरुङका अनुसार ती पर्यटक सम्पर्कमा आएका छैनन्। अत्यधिक हिमपातले ओहोरदोहोर गर्ने अवस्था नरहेको भन्दै उनले खोजी कार्यमा पनि समस्या भएको बताए।
डीआइजी घिमिरेले स्थानीय र प्रहरी घटनास्थलतर्फ परिचालन गरिएको बताएका छन्। अहिले त्यस स्थानमा हेलिकोप्टर पठाउन सकिने अवस्था नरहेकोले स्थलगत जानुको विकल्प नरहेको उनको भनाइ छ।
पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार पिक गाइड नेपाल र किन्को ट्रेक एजेन्सीमार्फत उनीहरु आधार शिविरका लागि गएका थिए।
फाइल तस्वीर





