प्रस्तावित सूचना विधेयकको विरोधमा कांग्रेसको ज्ञापन पत्र



०५ माघ २०७६, काठमाडौं

सरकारद्वारा प्रस्तावित सूचना प्रविधि विधेयकको विरोधमा नेपाली कांग्रेसले आइतबार (आज) सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने नियतले विधेयक ल्याएको भन्दै त्यसको विरोधस्वरुप जिल्ला प्रशासन कार्यालयमार्फत् ७७ वटै जिल्लामा ज्ञापन पत्र बुझाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

सरकारले ल्याएको नेपाल सेवा विधेयक र विकास तथा प्रविधि समितिबाट पारित सूचना प्रविधि विधेयकको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको छ। उक्त विधेयक संसदको विकास तथा प्रविधि समितिबाट पारित भएर संसदमा पेश हुने क्रममा रहेको छ।

कांग्रेसले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुमार्फत् सरकारलाई विरोधपत्र बुझाएको नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सवुज बानियाँले बताएका छन्।

कांग्रेसले सरकारको उक्त कदमलाई गम्भीर रुपमा लिएको र विधेयक नसच्याए आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा हुने चेतावनी बानियाँले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्