०६ माघ २०७६, काठमाडौं
संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको रिक्त सभामुख पदमा सांसद पुष्पा भुसाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।
पार्टी केन्द्रीय सदस्य र संसदीय दलको सचेतक रहेकी भुसाललाई उम्मेदवार बनाउने तय भएको कांग्रेस स्रोतले जानकारी दिएको छ।
संसदमा सभामुख निर्वाचनको प्रक्रिया शुरु भएपछि संसदीय दलको बैठक बसेर औपचारिक निर्णय गर्ने तयारी कांग्रेसको छ। सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्न एक बजे प्रतिनिधि सभाको बैठक बस्दैछ।
वरिष्ठ अधिवक्ता भुसालले यसअघि शिवमाया तुम्बाहाङ्फेसँग उसपभामुखमा प्रतिष्पर्धा गरेकी थिइन। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको उम्मेदवार उठाउने तयारीमा कांग्रेस रहेको बताएका छन्।
“उम्मेदवार उठाउने तयारी पार्टीको छ। व्यक्ति कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा संसदमा सभामुखको निर्वाचन प्रक्रिया शुरु भएपछि संसदीय दलको बैठक बसेर निर्णय हुन्छ।” उनले भने।
सत्तारुढ नेकपाले भने अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।