लिबिया सम्मेलनका सहभागीहरु शान्ति स्थापनामा सहमत



०६ माघ २०७६, काठमाडौं

जर्मनीको बर्लिनमा आइतबार शुरु भएको लिबिया सम्मेलनका सहभागीहरु लिबियामा जारी द्वन्द्वको अन्त्यका लाागि हतियारको प्रयोग निषेध गर्ने विषयमा सहमत भएका छन् ।

उक्त सम्मेलनका सहभागीहरुबीच द्वन्द्व समाधान गर्न विषयमा छलफल भएको जर्मन चान्सलर एञ्जेला मर्केलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– हामी यस सम्मेलनमा हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने एक गम्भीर विषयमा सहमति जनाएका छौँ ।

उहाँले बर्लिन सम्मेलनले अघि सारेको यस सहमतिले आगामी दिनमा लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा उक्त सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा राख्नुभयो ।

यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि जारी प्रयासहरुमा एक ठूलो योगदान पुर्याउने धारणा पनि जर्मन चान्सलर मर्केलले राख्नुभएको छ ।

आइतबार बर्लिलनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्वका नेताहरू सहभागी हुनुभएको छ । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी हुनुहुन्छ ।

लिबियामा जारी द्वन्द्व अन्त्यका लागि आवश्यक सहयोग जुटाउने विषयमा पनि छलफल भएको थियो । हाल लिबियाका प्रधानमन्त्री फायज अल–साराजलाई राष्ट्रसंघले मान्यता दिएको छ ।

उक्त सम्मेलनमा सहभागिता जनाउन लिबियाली प्रधानमन्त्री साराज र त्यहाँका विद्रोही नेता हफ्तार पनि बर्लिन पुग्नुभएको समाचारमा जनाइएको थियो ।

सो पत्रकार सम्मेलनमा मर्केलले भन्नुभयो– यो सम्मेलनबाट हामी निकै खुशी भएका छौँ र मलाई लाग्छ अब आगामी दिनमा यहाँ शान्ति स्थापना गरी सबै पक्ष मिलेर अघि बढ्ने बाटो खुलेको छ ।

उहाँले लिबियामा शान्ति प्रक्रियाका लागि यो पहिलो पाइला भएको पनि बताउनुभयो । यही हतियारको प्रयोग निषेधित भएको समयको सदुपयोग गरेर आगामी दिनमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

उक्त सम्मेलनपछि ५५ बुँदे सहमति पत्र पनि जारी गरिएको छ । सम्मेलनका सबै सहभागीहरुले ती ५५ बुँदामा सहमति जनाएका छन् ।

उक्त सहमतिअनुसार हतियारको प्रयोग निषेध गरिएको अवस्थाको निरीक्षणका लागि पनि एक समूह गठन गरिने छ र त्यसका आधारमा त्यहाँ हतियारको दुरुपयोग भए नभएको बारेमा निरीक्षण गरिने छ ।

यस सहमतिको संयुक्त राष्ट्रसंघले पनि सहमति जनाएको छ । संयुक्त राष्ट्रसंघ महासचिव गुटेर्रेसले यस सहमतिले लिबियामा शान्ति स्थापनाका लागि सहयोग पुर्याउने धारणा राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्