नेकपा-राजपा गठबन्धनका संयुक्त उम्मेदवार सिंहको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी



०६ माघ २०७६, काठमाडौं

आगामी ९ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका प्रदेश नं. २ का उम्मदेवार शेखर प्रसाद सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन कार्यालयमा उजुरी परेको छ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयुक्त उम्मेदवार सिंहको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालय जनकपुरमा उजुरी परेको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीका संयुक्त उम्मेदवार भोला पजियारले निर्वाचन कार्यालयमा विपक्षी गठबन्धनका उम्मेदवार सिंह अयोग्य भएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन्।

राजपा नेपालका तर्फबाट अल्पसंख्यक समूहबाट सप्तरी तिलाठी कोइलाडी गाउँपालिका ४ का सिंहले उम्मेदवारी दिएका थिए। पजियारले दिएको उजुरीमा ३० असार २०४४ मा जिल्ला अदालत सप्तरीबाट कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना हुने फैसला गरेको र उक्त फैसलालाई सगरमाथा अञ्चल अदालतबाट सदर भई सर्वोच्च अदालतको १ पुष २०५६ पुनरावलोकनको निस्सा नहुने भई अन्तिम भएको उल्लेख छ।

अपराधीलाई सत्तापक्षबाटै उम्मेदवार बनाउनुले कानूनी राज्य र कानूनी शासनको मर्ममाथि आघात पुगेकाले सिंहको उम्मेदवार खारेजी गर्नुपर्ने पजियारको माग छ।

विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजी भए पजियार एकल भएकाले उनी नै निर्वाचित हुने छन्।

प्रतिक्रिया दिनुहोस्