अष्ट्रेलियामा फेरी अर्को संकट: धुलोको आँधीका कारण दिउँसै छायो अँध्यारो



०७ माघ २०७६, काठमाडौं

अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा आइतबार धुलोको मुस्लोसहितको आँधीका कारण केही शहरमा दिउँसै अँध्यारो छायो ।सोसल मिडियामा यसका थुप्रै भिडियो सेयर गरिएका छन् । यसमा न्यू साउथ वेल्स आसपासका शहरमा धुलोयुक्त आँधी देख्न सकिन्छ ।

मौसम विभागले पाक्र्स शहरमा हावाको गती ९४ किलोमिटर प्रतिघण्टा बताएको छ भने डुब्बो शहरमा १०७ किलोमिटर प्रतिघण्टा मापन गरिएको छ । मौसम विभागका अधिकारी रोज बारले आइतबार न्यू साउथ वेल्सको मध्य, उत्तरी र पूर्वी हिस्सामा वर्षा पनि भएको जानकारी दिएका छन् ।

राज्य आपतकालीन सेवामा आइतबार बिहान मद्दतका लागि १ हजार ४ सय ५३ फोन आए । यीमध्ये हजार बढी फोनमा भवन ध्वस्त भएको जानकारी दिइएको थियो । भिक्टोरियाको पूर्वी गिप्सल्याण्डमा सबैभन्दा धेरै ५६.६ मिमी वर्षा भयो । मेलबर्नको उत्तर–पूर्वमा मेघ गर्जनसहित तेज गतिमा आँधी चल्यो । धेरैजसो इलाकामा १०–१५ मिमी वर्षा भयो जबकी डनकास्टरमा २७ मिमी वर्षा भयो ।

मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल

भिक्टोरियाको आपतकालीन सेवा मन्त्री लिसा नेविलले अबको केही दिनमा बाढी र तीब्र गतीको आँधी देख्न सकिने जानकारी दिएका छन् । भिक्टोरियामा आइतबार चेतावनी जारी गरिएको छ । यहाँको १४ स्थानमा डढेलो लागेको छ । पास्टोरियामा डढेलोका कारण मानिसहरुलाई ज्यानको खतरा थियो । यद्यपि, सोमबार बिहानसम्म यसमाथि थोरै नियन्त्रण आएको बताइएको छ । मानिसहरुलाई सुरक्षित स्थानमा जान अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्