०७ माघ २०७६, काठमाडौं
राष्ट्रिय जनता पार्टी (राजपा) ले उपसभामुखको दावी गरेको छ।
राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सत्तारुढ दल नेकपालाई राष्ट्रिय सभा र सभामुखमा सघाएको बताउँदै उमसभामुख भने आफूहरुलाई हुनुपर्ने बताएका हुन्।
‘सभामुख नेकपालाई दिइएपछि अन्य दलबाट उपसभामुख हुनुपर्छ।’ उनले भने, ‘राष्ट्रिय सभाको चुनावका लागि नेकपा र हामीबीच गठबन्धन भएको छ। सभामुखमा हामीले नेकपालाई समर्थन गरेका छौँ। त्यसैले उपसभामुख पद हामीलाई हुनुपर्छ। हामी नेकपाको प्रस्तावको प्रतिक्षामा छौं।’
महतोले उक्त विषयमा नेकपा नेताहरुसँग पटक-पटक अनौपचारिक रुपमा कुराकानी पनि भइरहेको बताए। संविधानतः एउटै दलबाट सभामुख र उपसभामुख बन्न नमिल्ने व्यवस्था छ।
नेकपाले सभामुखमा अग्नी प्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ।