०७ माघ २०७६, काठमाडौं
इन्टरपोलका पूर्व प्रमुख मेङ होङवेइलाई भ्रष्टाचारको अभियोगमा चीनको एक अदालतले साढे १३ वर्षको जेल सजाय सुनाएको छ।
उनलाई सन् २०१८ मा चीनमा पक्राउ गरिएको थियो। उनी चीनका सार्वजनिक सुरक्षासम्बन्धी पूर्व उपमन्त्री समेत हुन्। उनी फ्रान्सबाट चीन गएका बेलामा बेपत्ता भएका थिए।
पछि उनलाई घुस लिएको स्वीकार गरेको भन्दै चीनको कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको थियो। गत वर्ष उनकी पत्नीलाई फ्रान्समा आश्रय दिइएको थियो। पत्नी र छोराछोरीलाई अपहरणका लागि लक्षित गरिएको त्यतिबेला चर्चा भएको थियो।
मेङलाई १३ वर्ष र ६ महिनाको जेल र २ लाख ९० हजार युआन जरिवाना तोकिएको जनाइएको छ। उनीबारे फैसला मंगलबार तियान्जिन फर्स्ट इन्टरमिडियट पिपुल्स कोर्टले गरेको हो।
सो अदालतले मेङले गल्ती स्वीकार गरेको र पुनरावेदन नगर्ने जनाएको छ।-एजेन्सी