सांसद दीपक मनाङ्गेबाट कुटिए एन्फा अध्यक्ष



०७ माघ २०७६, काठमाडौं

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे)बाट कुटिएका छन्।

मंगलबार (आज) देखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिता चलिरहेकोको बेला सांसद मनाङ्गेले खेल व्यवस्थापन नभएको भन्दै अध्यक्ष गुरुङमाथि हातपाट गरेका हुन्।

खेलको नियम नबुझी मनाङ्गेले आफूमाथि हात उठाएको अध्यक्ष गुरुङको भनाई छ। ‘भोलिदेखि मनाङको खेल हो। उहाँहरु ५ दिनअघि नै आउनुभएछ। उतिबेलैदेखि होटल माग्नुभयो। त्यो हामीले दिन सक्दैनौं भनेपछि हात हाल्नुभयो,’ गुरुङले भनेका छन्, ‘मुख्यमन्त्री आइसक्नुभएको थियो। खेल शुरु हुन लागेको थियो। म स्वागतका लागि जाँदा जथाभावी बोल्दै हात हाल्नुभएको हो। सांसदको मर्यादा राखेर मैले केही गरिनँ।’

सांसद गुरुङले थप्पड हानेको स्वीकार गरेका छन्। ‘आयोजकले बदमासी गरेको छ। मनाङबाट प्लेअर आएको धेरै भइसक्यो। न ग्राउन्ड दियो। न खाने बस्ने खर्च छ।’ उनले भने, ‘मैले यही कुरा सोध्दा ठूलो कुरा गर्यो। अनि एक झापड हानेको हो।’

मुख्यमन्त्री कप लेखनाथको भण्डारढिकमा आजदेखि शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्