०८ माघ २०७६, काठमाडौं
सभामुखलाई लौनचौरस्थित यसअघि उपराष्ट्रपतिले प्रयोग गरेको निवासमा राखिने भएको छ।
बालुवाटारस्थित रहेको सभामुखको निवासमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेपछि सभामुखको नयाँ निवासको खोजी भइरहेको थियो।
प्रतिनिधि सभाले सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाएसँगै शहरी विकास मन्त्रालय र संघीय संसद सचिवालयले सभामुखका लागि निवासको खोजी थालेको थियो।
सभामुखका लागि निवासको व्यवस्था गर्ने जिम्मेवारी शहरी विकास मन्त्रालयको हो। मन्त्रालयले सभामुखका लागि यसअघि उपराष्ट्रपति बस्दै आएको लैनचौरस्थित सरकारी घरलाई प्रयोग गर्ने जनाएको छ।
यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई बसेका थिए। उनी पुल्चोकस्थित मन्त्री क्वार्टरमा सरेपछि उक्त निवास खाली थियो। सुरक्षा र पार्किङका दृष्टिले पनि उक्त घर सभामुखका लागि उपयुक्त भएको शहरी विकास मन्त्रालयले जनायो।
मंगलबार सभामुखका लागि मनोनयन दर्ता भएको थियो। जसमा नेकपाका तर्फबाट अग्नी प्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। सभामुखको घोषणा भने आगामी १२ माघमा हुने छ।
उनी निर्विरोध निर्वाचित हुने भएका छन्। सभामुखमा निर्वाचित भएपछि सापकोटा लैनचौरस्थित निवासमा बस्नेछन्।
फाइल तस्वीर