१० माघ २०७६, काठमाडौँ
करिब ७० दिनअघि सुरु भएको चलचित्र प्रेमगीत ३ को छायांकन सकिएको छ । प्रेमगीत ३ यो बर्षको प्रतिक्षित चलचित्र हो । चैत्र २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र लगभग ३ करोड लागतमा तयार भएको निर्माता सन्तोष सेनले बताएका छन् ।
प्रेमगीत ३ को छायांकन सकिएको जानकारी सन्तोषले आफ्नो आधिकारीक फेसबुक मार्फत दिएका छन् । उनले प्रेमगीत ३ को छायांकन सकिए लगत्तै डबिङ लगायत अन्य काम सुरु भैसकेको समेत बताएका छन् ।
मनाङ प्रस्थान गर्नुभन्दा अगाडि ‘प्रेमगीत ३’ को ४५ प्रतिशत दृश्य काठमाडौंको कीर्तिपूरमा भव्य सेट निर्माण गरेर खिचिएको थियो । फिल्मका लागि सबैभन्दा ठूलो खर्च काठमाडौंमा निर्माण गरिएको सेट र मनाङमा मुस्ताङबाट मगाइएको घोडामा भएको बताइएको छ । ३ हजार ५ सय मिटर उचाइको मनाङमा फिल्मका लागि अधिकांश हिउँ परिरहेको दृश्य कैद गरिएको छ ।
चलचित्र प्रेमगीत ३ मा प्रदिप खड्का, सुनिल थापा, शिव श्रेष्ठ, अनुभव रेग्मी, योगिशा खत्री, सन्तोष सेन, नव–नायिका कृष्टिना गुरुङ, नव–अभिनेता मनिष लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले सयुंक्त रुपमा निर्देशन गरेका हुन् ।