सापकोटालाई सभामुख बनाउने निर्णयमा असन्तुष्टि जनाउँदै राष्ट्रपतिका सल्लाहकारद्वारा राजीनामा



१० माघ २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवि भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

उनले आजै राष्ट्रपति भण्डारीलाई आफ्नो राजीनामा बुझाएका छन्। प्रतिनिधि सभाको रिक्त सभामुख पदमा हत्याको आरोप लागेका सांसद अग्नी प्रसाद सापकोटालाई चयन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बुझिएको छ।

सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद सापकोटामाथि द्वन्द्वकालमा विसं २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको छ।

सापकोटालाई विसं २०६८ सालमा झलनाथ खनालले आफ्नो मन्त्रिपरिषद्मा सूचना तथा सञ्चारमन्त्री नियुक्त गरेपछि हत्यामा संलग्न व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै प्याकुरेलले सर्वोच्च अदालतमा रिट हालेका थिए।

उक्त रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। सत्तारुढ नेकपाले सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेअनुसार ७ माघमा उम्मेद्वारी दिएका सापकोटा निर्विरोध निर्वाचित भइसकेका छन्।
⇒ अग्नी प्रसाद सापकोटाविरुद्ध सर्वोच्चमा रिट
उनलाई सभामुख निर्वाचित भएको औपचारिक घोषणा भने प्रतिनिधि सभाले १२ माघमा मात्रै गर्नेछ। प्याकुरेलले भने कोही व्यक्ति विशेषका कारण भन्दा पनि आफ्नो सिद्धान्तप्रतिको निष्ठाका कारण आफूले राजीनामा दिएको बताएका छन्।

‘मैले व्यक्ति विशेषका आधारमा नभइ आफ्नो सिद्धान्तमा आधारित भएर राजीनामा दिएको हुँ।’ प्याकुरेलले भने, ‘केहीबेरमा वक्तव्यमार्फत् आफ्ना कुरा सार्वजनिक गर्दैछु।’

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्यसमेत रहेका प्याकुरेललाई ९ चैत २०७४ मा राष्ट्रपतिको सल्लाहकारमा नियुक्त गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्