गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि सरकार प्रतिबद्ध



१३ माघ २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

काठमाडौंको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तसँगको भेटघाटको क्रममा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपाल र नेपाल बाहिर गरेका गतिविधिप्रति चासो राख्दै सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताएका हुन्  ।

सोही अवसरमा संघका अध्यक्ष कुमार पन्तले संसदमा विचाराधीन गैरआवासीय नेपाली नागरिकता सम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाईप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी विधेयक संसदीय प्रक्रियामा रहेको बताउँदै छिट्टै त्यसलाई टुंगो लगाइने आश्वासन दिएका थिए ।

भेटमा अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलनबारे समेत जानकारी गराएका थिए । यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्बकोे सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको अध्यक्ष पन्तले बताएका थिए  ।

अध्यक्ष पन्तका अनुसार प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चासो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघको भर्खरै पोखरामा सम्पन्न ७१ औँ बैठकका लागि नेपाल आएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेटमा व्यस्त छन् । भेटका क्रममा गैरआवासीय  नेपाली समुदायको विभिन्न माग तथा सरोकारका विषयमा छलफल भइरहेको उनले बताएका छन् । उनी आगामी साता जर्मनी फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्