‘शेरको छोरा शेरधन!’



१५ माघ २०७६, काठमाडौं

शेरको छोरा शेरधन!

मेरो नामाकरण किराँत प्रदेश गरेस्।
किराँत इतिहास अनि सभ्यता हो।
पूर्वमा मात्रै हैन चारै वेदमा खोजेस्।
मलाई विकिपिडियामा अध्ययन गरेस्।

‘रैथानेहरु डराउँदैछन्, सुतेको सिंह मात्रै ब्युझिँदा
पैतलाबाट कोखमा पुग्दैछौ,आत्मा हुँदै मष्तिस्कमा एक हुनु।
जसरी सुदामा राजा कृष्ण कहाँ,
कनिका बोकी बाल सखा भेट्न पुग्दछ।

त्यसपछिको सुमधुर स्वागत र कहानी सर्वज्ञान छ
माने कमरेड प्रचण्ड ज्यू, सुदामाको हकडक कसरी चल्यो?
कुरुक्षेत्रमा अर्जुनको रथ मात्र हाँक्ने सारथी कृष्णजीमा?
सम्माननीय प्रधानमन्त्री ओलि ज्यू सत्य र न्यायले हैन?

फेरि महामहिम राष्ट्रपतिज्यू, त्यो सिंहासनमा बस्ने जीवन त
मेरो छातीमा टेकेर पाउनु भयो हैन र?
त्यसैले हेर मेरो अर्का सपूत शेरधन छोरा
तिमीलाई मैले आजसम्म मात्रै काखमा हुर्काएकी थिएँ।

…तर अब तिमी लक्का र परिपक्व भएका छौ।
सबै आमालाई जस्तै मलाई पनि बुहारी भित्र्याउने रहर छ।
तर त्यो जमाना रहेन र दुधे बालक नि रहनु भएन हजुर
आज मेरो छोरा शेरधन मात्रै रहनु भएन।

हजुर प्रदेश नं. १ को पहिलो मुख्य मन्त्री पनि हो।
तर मलाई सुटुक्कै राजी भने बनाउनु पर्छ।
कस्ती बुहारी भित्र्याउने भनेर
आखिरमा म्याँउ गर्ने बिराली हैन, शेरनी भित्र्याउनु छ मलाई
मास मिडियादेखि न्यू मिडियासम्म छापा मारेको छु।

छोरालाई उड्न पो पठाएको हुँत मैले वैदेशिक रोजगारमा हैन
सबै सन्तानलाई मैले समान पगरी गुथेको छु।
तर आफ्नी आमाको न्वारान गर्ने सौभाग्य जुरेको छ हजुरलाई
आज जनताको छोरा जनताको लागि मौसूफ होइबक्सेको छ।

मेरो शिरको सेतो ढाकाको सल, निधारमा चम्केर बसेको टीका
चिम्सा आँखा,आज पनि ज्योति झैँ बलिरहेछ पक्कै गर्वमा
ढुङ्ग्री, मुन्द्री, बुलाकी, फुली, नथिया फेरि–फेरि लगाउने यी नाक
अनि गहना पनि सबै जिम्मा हजुरलाई दिएँ है।
किनकी, सार्वभौमसत्ताको सुगन्ध र गाथा श्रृङ्गार्नु पर्छ है।

मुसुक्क मुस्कुराएर नौलाख सन्तानका पींडालाई रोजी
शिरफूल तिमी नै हौ मेरी भन्न लगाउने ओठ पनि हजुरलाई
किनकी, धार्निको टाउको हल्लाउने जमाना छैन अहिले
आठ पोलको जिब्रो फड्कार्नु पर्छ।

वान म्यान आर्मीको भूमिका रचनात्मक बनाउँनलाई
काँध जोडेर खेती गर्ने सबै मेरा कुमहरुलाई
नयाँ प्रविधि, ज्ञान र सकारात्मक उर्जाले भर्नुहोस्।
सङ्कोच नमान्नु यी मेरा छाती चुसेर सपूत बन्नु भयो
अब अलिक सजग हुनु यी स्तन मात्रै हैनन्।

हजुरको लागि म अब कामधेनु गाई पनि हुँ।
नौ महिना बन्द गरेर आरोहण गरेको यो मेरो कोख
कोखमा फुलेको फलेका सबै फलफूलहरुलाई
समान प्रेम, सद्भाव र सकारात्मकताले फेरि भर्नु
भर्भराउदो यौवन र कौमार्यतालाई मैले
तपस्या गरेर मात्रै निष्क्षेदन गरेकी हुँ।

त्यसैले यी मेरा सबै देवालय प्रवेश गर्दा र गराउँदा
मन, वचन र कर्मले सत्यलाई साथमा राख्नु
तिर्थस्थल, धार्मिक स्थल र सम्पूर्ण भूगोललाई
‘Visit Nepal 2020’ मा कुवेरलाय बनाउनु
मैले दिएको यो नासोलाई यदि कसैले चोर औंलाले देखाएर,
माझी औंलाले झिक्न, लुट्न, ताछ्न र विष घोल्न खोज्छ भने
बुढि औंलाले ‘थम्सअप’ गर्नु र बाँकी दुई औँला बन्द गरी
गोली हानी उडाइ दिनु।

किनकी, मलद्वार र मूत्राशय ठिक समयमा
सुद्धिकरणका लागि प्रयोग गर्नु।
यी मेरा गोडाहरु पाउजु, कल्ली पनि सबै हजुरलाई
किनकी, पेटमा मुसा दौडँदा यी गोडा काम लाग्नेछन्।

रातमा होस् या दिनमा सकस परेमा
छमछमी पाउजुको आवाज र कल्लीको तौलले
सन्तोषको सास फेरि चौतर्फी विकास गर्न हौसाउने छन्।
छोरा एउटी आमाले के नै पो स्वार्थ राख्न सक्छ र?

प्रसव–पींडालाई आत्माले खिचेर,
आफू मरेर एक अर्को सृष्टि मात्रै त गर्दछ।
तर पनि म जस्तै भए पनि, हजुरले आफूलाई युगौं ब्युँताएस्।

आज यो मेरो शिरदेखि पैतालासम्मको भेट स्वीकारेस्।

काम, कर्तव्य र अधिकारलाई भरै भोलि नभनेस्।
प्रदेश नं. १ को पहिलो मुख्यमन्त्री शेरधन मात्रै हैन।
प्रदेश नं. १ को हरेक घरधुरी भित्रको श्री धन बनेस्।

सोनाम राई

मिसेस् मंगोल नेपाल–२०१६

काठमाडौं

प्रतिक्रिया दिनुहोस्