१६ माघ २०७६, काठमाडौँ
कलाकार मात्र नभएर सामाजिक अभियान्ताको रुपमा समेत परिचित सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टि भाइरस’ को अफिसियल ट्रेलर हिजो रिलिज भएको छ ।
ट्रेलरलाई दर्शकले राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् । चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका कलाकारका साथ दिपाश्री निरौला, रमेश उप्रेती लगायतका कलाकार पनि पुगेका थिए । दिपाले चलचित्रको ट्रेलर आफूलाई असाध्यै राम्रो लागेको प्रतिक्रिया दिएकी थिइन् ।
यस्तै ट्रेलर रिलिज कार्यक्रममा बोल्दै चलचित्रकी मुख्य नायिका कुञ्जना घिमिरे अर्थात सुन्तलीले ‘सेन्टि भाइरस’ आफ्नो लागि निकै विशेष भएको बताइन् । कुञ्जनाले पहिलेदेखि नै आफ्नो नायिका बन्ने सपना रहेको बताउँदै आएकी थिइन् ।
उनी सफल कलाकार त बनिन् तर नायिकाकै रुपमा भने देखिएकी थिइनन् । ‘सेन्टि भाइरस’ की मुख्य नायिका नै सुन्तली हुन् । त्यसैले उनको लागि यो चलचित्र विशेष छ । कार्यक्रममा बोल्दै सुन्तलीले भनिन्, ‘सानैदेखि हिरोइन भन्छु भन्थे, २८ बर्षपछि मेरो हिरोइन बन्ने सपना पुरा भएको छ’ ।
यस्तै धुर्मुस र सुन्तलीले ‘सेन्टि भाइरस’ को कमाइको ५० प्रतिशत हाल निर्माण भैरहेको ‘गौतम बुद्ध क्रिकेट रगंशाला’ का लागि जाने बताएका छन् । त्यसैले धुर्मुस र सुन्तलीले सम्पूर्ण दर्शकलाई ‘सेन्टि भाइरस’ हेर्नको लागि अनुरोध समेत गरेका छन् ।
चलिचत्र ‘सेन्टि भाइरस’ फागुन ९ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउँदै छ । चलचित्रमा धुर्मुस र सुन्तलीका साथ दयाहाङ राई, बुद्धि तामाङ, राजाराम पौडेल, विल्सन विक्रम राई, सन्दिप क्षेत्री, कमलमणि नेपाल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्र सेन्टि भाइरस लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।