१६ माघ २०७६, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन आज १५ समूहले राजनीतिक प्रतिवेदनमाथि छलफल गर्दै छन्।
हिजो (बुधबार) बाट शुरु भएको बैठकले आज (बिहीबार) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदनमाथि छलफल हुने भएको हो।
प्रतिवेदनमाथि छलफल गर्नको लागि केन्द्रीय सदस्यहरुलाई विभिन्न १५ वटा समूहमा विभाजन गरिएको छ। नेकपा केन्द्रीय कार्यालयका सचिव शिरिराम ढकालका अनुसार १ नम्बरदेखि ८ नम्बरसम्मको समूहलाई राष्ट्रिय सभा गृहमा छलफलको लागि व्यवस्था गरिएको छ।
यस्तै ९ नम्बरदेखि ११ नम्बरसम्मको समूहलाई पार्टी कार्यालय पेरिस डाँडामा छलफलको लागि व्यवस्था मिलाइएको छ। यसैगरी १२ नम्बरदेखि १५ नम्बरसम्मको समूहलाई पार्टी कार्यालय धुम्बाहारहीमा व्यवस्था मिलाइएको ढकालले जानकारी दिएका छन्।
पहिलो पटक पार्टी एकताको अनुमोदन गर्न बसेको नेकपाको केन्द्रीय कमिटी बैठक यो दोश्रो हो। पूर्ण बैठकमा केन्द्रीय कमिटीका ४४५ सदस्यको सहभागिता छ।
बैठकमा सातै प्रदेशका संयोजकले आ–आफ्नो प्रदेश कमिटीको सांगठनिक प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ। ९ बुँदे कार्यविधि अनुसार एक केन्द्रीय सदस्यले विचार राख्नका लागि १० मिनेटको समय पाउनेछन् ।
स्रोतका अनुसार नेकपा सचिवालयका सदस्यहरुले भने १५ वटा समूहमध्येमा कुनै समूहमा पनि भाग लिएका छैनन्।
तस्वीर श्रोतः प्रधानमन्त्रीसचिवालय