सन्की युवाले प्रदर्शनकारीमाथि गोली चलाए, प्रहरी ट्वाँ…



१६ माघ २०७६, काठमाडौं

नागरिकता संशोधन कानून (सीएए) र राष्ट्रिय नागरिकता रजिष्टर (एनआरसी) को विरोधमा दिल्लीमा उत्रिएका प्रदर्शनकारीमाथि एक सन्की युवकले गोली चलाएका छन्।

बिहीबार दिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयदेखि राजघाटसम्म निकालिएको र्‍यालीमा सहभागी विद्यार्थीहरुलाई ताकेर ती युवकले गोली चलाएका हुन्।

प्रहरीले ती युवकलाई पक्राउ गरिसकेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। ती युवकले प्रहरीसँग आफ्नो नाम गोपाल भएको बताएका समाचारमा जनाइएको छ।

साथै उनले आफू ‘रामभक्त’ भएको पनि बताएका छन्। गोली प्रहारबाट जामिया मिलिया विश्वविद्यालयकी एक विद्यार्थी घाइते भएकी छिन्।

ठूलो मात्रामा सुरक्षाकर्मीको तैनाथीका बाबजुद यो घटना घटेको हो। आफ्नै अगाडि खुल्लमखुला एक सन्की युवकले गोली चलाउँदा प्रहरी भने मूकदर्शक बनेको भिडियोमा देखिन्छ।

प्रत्यक्षदर्शीका अनुसार ती युवकले ‘वन्दे मातरम’, ‘भारत माताकी जय’ र ‘दिल्ली पुलिस जिन्दावाद’ नारा लगाउँदै प्रदर्शनकारीमाथि गोली चलाएका थिए।

प्रहरीले ती युवक को हुन् भन्नेबारेमा अनुसन्धान गरिरहेको बताएको छ। भारतका विभिन्न ठाउँमा केही महिनादेखि सीएए र एनआरसीको विरोधमा लगातार प्रदर्शन भइरहेको छ।

दिल्ली विधानसभा चुनावको केही दिनअगाडि मात्रै यस्तो घटना घट्‍नुलाई निकै महत्वका साथ हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्