अल्ट्रा म्याराथन दौडको उपाधी सुमनलाई



१६ माघ २०७६, काठमाडौं

तनहुँको ब्यासनगरपालिकाद्वारा आयोजित तेस्रो ब्यास अल्ट्रा म्याराथन दौडको उपाधि सोलुखुम्बुका सुमन कुलुङ्ले हात पार्न सफल हुनुभएको छ ।

उक्त दौड प्रतियोगितमा सहभागी ६० जना धावकलाईपछि पादै कुलुङले प्रथम स्थान हासिल गर्नुभएको हो । ब्यासनगरपालिका– ५ स्थित मानुङकोटदेखि पुलिमर्याङसम्मको करीब ४४ किलोमिटर दूरी उहाँले दुई घण्टा ५९ मिनेटमा पार गरी उक्त स्थान हासिल गर्नुभएको हो ।

त्यसैगरी कालीकोट जिल्ला घर भई नेपाली सेनाका देवराज महतराले तीन घण्टा दुई मिनेटमा पार गरी द्वितीय र भोजपुर जिल्ला घर भई नेपाली सेनाकै तीर्थ तामाङले तीन घण्टा तीन मिनेटमा दूरी पार गरी तृतीय स्थान हासिल गर्नुभएको छ । प्रतियोगतामा विजयी खेलाडीलाई क्रमश: रु ८१ हजार ७६, रु ६१ हजार ७६ र रु ५१ हजार ७६ को साथै प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंह र ब्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले विजयी खेलाडीलाई संयुक्त रुपमा नगद तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्