नेकपा केन्द्रीय कमिटी बैठक : यस्तो छ, ‘सीट प्लानिङ्ग’



१७ माघ २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठकमा सचिवालय र स्थायी कमिटी सदस्यको मात्र ‘सीट प्लानिङ्ग’ भएको छ।

नेकपाको दोस्रो पूर्ण बैठक काठमाडौंको राष्ट्रिय सभागृहमा चलिरहेको छ। केन्द्रीय सदस्यको ‘सीट प्लानिङ्ग’ नहुँदा जो पहिला जान्छ, उहीँ पहिले बस्ने अवस्था देखिएको छ।

स्थायी कमिटी सदस्यहरुको पनि नामअनुसारको वरियता निर्धारण गरिएको छ। बैठकमा हाइकमाण्डमा रहेका ९ जनाको सचिवालय मंचमा बस्ने व्यवस्था मिलाइएको छ।

मंचमा बस्नेहरुको भने वरियताअनुसार ‘सीट प्लानिङ्ग’ गरिएको छ। मंचको सिधा अगाडिको भागमा स्थायी कमिटीका सदस्य बस्ने व्यवस्था गरिएको छ।

स्थायी कमिटीका सदस्यहरु भने, आ–आफ्नो नाम लेखिएको ठाउँमा गएर बस्नेछन्।

स्थायी कमिटी : जो पहिले, ऊ अगाडि

स्थायी कमिटीका सदस्यको पछाडीको भागमा बाँकी केन्द्रीय सदस्य बस्नेगरी व्यवस्था मिलाइएको छ। जो पहिला पुग्छ, उही नै अगाडि बस्छ।

‘स्थायी कमिटी सदस्यको पछाडी जुन कुर्सी भेटिन्छ, त्यहीँ बस्ने हो।’ एक केन्द्रीय सदस्यले भने।

उद्घाटन सत्रमा केन्द्रीय सदस्यमात्र भएका संघीय सरकारका मन्त्री र पुराना नेताहरु पनि पछि बसेका थिए। उनीहरुले आफूहरु अगाडि बस्ने व्यवस्था नमिलाइएको भन्दै गुनासो पनि गरे।

‘नेकपाका केन्द्रीय सदस्यहरुको टोली जम्बो छ।’ एक केन्द्रीय सदस्यले भनेका छन्, ‘सबैजना एउटै टोकरीमा राखिएको छ।’

नेकपामा केन्द्रीय सदस्यको संख्या ४४५ छ। ९ जनाको सचिवालय, ४५ जनाको स्थायी कमिटी छ। पोलिटब्यूरो भने अझै गठन हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्