१८ माघ २०७६, काठमाडौं
पूर्वसभामुख कृष्णबहादुर महरा जबर्जस्ती करणीको अभियोगमा करिब तीन महिनादेखि पुर्पक्षका लागि थुनामा छन् । कात्तिक २५ गतेदेखि डिल्लीबजार कारागारमा रहेका उनलाई भेट्न जानेहरूको लर्को नै लाग्ने गरेको छ ।
उनलाई भेट्न आउनेहरू प्रायः जनमानसमा परिचित र शीर्षनेताहरू होलान् भन्ने धेरैलाई लाग्न सक्छ । तर उनलाई भेट्न सामान्य कार्यकर्ता र आफन्तबाहेक भिआइपी भने जाँदैनन् । ‘अरू कैदीलाई भेट्न फाट्टफुट्ट रूपमा भए पनि शीर्ष नेताहरू आइरहेका हुन्छन्,’ कारागार प्रशासनका एक कर्मचारीले भने, ‘तर महराज्यूलाई भेट्न शीर्ष नेताहरू कोही नआएको देख्दा अनौठो लागेको छ ।’
राज्यको पाँचौं वरीयताका व्यक्ति जबर्जस्ती करणीको मुद्दामा जेल चलान भएको यो नै पहिलो रेकर्ड हो । त्यसकारण पनि महराले अप्ठेरो महसुस गरेको जनाइएको छ ।
कारागार स्रोतका अनुसार महरा स्वयं पनि बाहिरी व्यक्तिसँग भेट्न रुचि राख्दैनन् । कारागारका कर्मचारीले ‘कस्तो छ ?’ भनेर सोध्दा उनी टाउको हल्लाएर ठीक रहेको संकेत गर्ने गरेका छन् ।
कारागारभित्र महराको बिहान ६ बजेदेखि दैनिकी सुरु हुन्छ । उठ्नेबित्तिकै उनी केही बेर ओछ्यानमै योग गर्छन् । एकछिन हातपाखुरा र जिउ तन्काएपछि कारागारकै कम्पाउन्डमा चार/पाँच फन्को मार्छन् । लगत्तै तातोपानी, चिनीबिनाको चिया र रोटी, फलफूल आदि खान्छन् ।
उनका लागि प्रायः घरबाटै खानेकुरा आइपुग्छ । बिहान ९ बजेतिर पत्रपत्रिका पढ्न पुस्तकालय छिर्छन् । १० बजे खाना खान कोठाभन्दा बाहिरपट्टि कुर्सीमा आउँछन् । कहिलेकाहीं भने कारागारभित्रकै क्यान्टिनमा खान्छन् ।
कोठामा छिरेर केही बेरको आरामपछि उनी ११ बजे आगन्तुक भेट्न र घाम ताप्न बाहिर निस्कन्छन् । दिउँसो २ बजे आफन्तसँगै खाजा खान्छन् । त्यसपछि ५ बजेसम्म कोठाबाहिरै बस्छन् ।
साँझ परेसँगै खाना खाएलगत्तै उनी सुगर र प्रेसरको औषधि सेवन गर्छन् । महराले आफ्नो सिरानीनजिक केही पुस्तक राखेका छन् । उनी आफन्त नआएका बेला किताब र पत्रपत्रिका पढ्छन् । बेलुकी ९ बजे उनको सुत्ने समय हो ।