२१ माघ २०७६, काठमाडौं
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीविरुद्ध बाहिर आएका कुराहरु अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताएका छन्।
उनले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर यस विषयलाई उठान गरेको भन्दै बजारमा अनावश्यक विषयमा बहस गरेर मित्र राष्ट्रसँगको सम्बन्धलाई कसैले पनि तीतो बनाउन नहुने बताए।
आजदेखि शुरु हुने स्वास्थ्य बीमा घोषणा कार्यक्रमको लागि गृहजिल्ला गुल्मी पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले प्रेस सङ्गठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमसीसी सँधै नेपालको हितमा भएको बताउँदै एमसीसीको फुलफर्म थाहा नभएकाहरुले यसको विरुद्धमा बोलेको टिप्पणी गरे।
उनले चुइगम चपाउँदा रस सकिएर दाँतमा टाँसिने र त्यसको कुनै स्वाद नहुने जस्तै प्रकृतिको बहस एमसीसीका बारेमा अहिले बजारमा चलिरहेको बताए।
पार्टीहरु लोकतन्त्रका आधारस्तम्भ भएको भन्दै पार्टीहरु कमजोर हुँदा लोकतन्त्रसमेत कमजोर हुने उनले बताए।