विप्लव समूहको मुख्य चन्दा संकलक पक्राउ



२१ माघ २०७६, काठमाडौं

नेत्रविक्रम चन्द समूहका नेता तथा पार्टीको मुख्य चन्दा संकलक अर्जुन कटवाल पक्राउ परेका छन्।

प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको ‘प्राइभेट अफिस’बाट पक्राउ गरेको हो। कटवाल विप्लव समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष समेत हुन्।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिन्धुली स्थायी घर भएका कटवालको बलम्बुमा पनि घर छ। उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बुस्थित घरमा अहिले खानतलासी गरिरहेको छ। उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी–व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबूक पनि प्रहरीले बरामद गरेको छ।

सरकारले विप्लव समूहलई गत २०७५ फागुन २८ बाट प्रतिबन्ध लगाएको थियो। त्यसयता १ हजार ३ सय ४३ जना नेताकार्यकर्ता पक्राउ परेकोमा १ हजार १ सय ३४ जना धरौटी र साधारण तारेखमा छुटेका छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्