विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीहरुको मृत्यु



२१ माघ २०७६, काठमाडौं

पश्चिमी केन्यामा एउटा विद्यालयमा भागदौड हुँदा कम्तीमा १४ विद्यार्थीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

राजधानी नाइरोबीबाट पश्चिमोत्तर भागमा काकामेगास्थित प्राथमिक विद्यालयमा सोमबार (हिजो) उक्त घटना भएको बीबीसीले जनाएको छ।

छुट्टी भएपछि विद्यार्थीहरू कक्षाकोठाबाट निस्किन लाग्दा भागदौड भएको विवरणहरू आएका छन्।

शिक्षामन्त्री जोर्ज मगोहाले स्थानीय सञ्चारमाध्यमलाई १४ विद्यार्थीको मृत्यु भएको पुष्टि गरेका छन्।

‘बच्चा गुमाउनु एकदमै पीडादायी हुन्छ। आफ्ना बच्चा गुमाउने अभिभावकलाई मेरो समवेदना!’ उनले सिटिजन टीभीलाई भनेका थिए।

घाइते भएका झन्डै ४० विद्यार्थीलाई अस्पताल लगिएको बताइएको छ। तीमध्ये केहीको स्थिति गम्भीर भएको बताएको छ भने केहीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ।

के कारणले भागदौड भयो भन्ने स्पष्ट भएको छैन।

प्रतिक्रिया दिनुहोस्