पार्टीभित्र प्रतिपक्षको छवि बनाएका रावलको नेकपा संगठन विभागमा ‘इन्ट्री’



२१ माघ २०७६, काठमाडौं

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संगठन विभागमा १० जना सदस्यहरु थपिएका छन्।

जसमा नेकपाभित्र प्रतिपक्षका रुपमा चिनिएका स्थायी समिति सदस्य भीम रावल पनि परेका छन्। यसअघि रावलले आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए।

उनी नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज हुन्। नयाँ सदस्यहरु थपिएलगत्तै सोमबार बसेको विभागको बैठकले महाधिवेशन लक्षित कार्ययोजना तयार गरेको छ।

महाधिवेशनको मिती तय भइसकेकाले त्यसलाई आधार बनाएर विभागले आफ्नो कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको सदस्य अष्टलक्ष्मी शाक्यले बताइन्।

आइतबार बसेको सचिवालय बैठकमा विभाग प्रमुख गौतमले सिफारिस गरेका नामहरुलाई अनुमोदन गरेको हो। पछिल्लो पटक संगठन विभागमा १० जना सदस्यहरु थपिए पनि पूर्णता भने अझै भएको छैन।

नेकपाको पार्टी नियमावलीअनुसार विभागहरू पूर्ण हुन ३५ सदस्य रहनुपर्नेछ।

तेस्रो पटक संगठन विभागमा थपिएका सदस्यहरुमा भीम रावल, भीम आचार्य, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, मातृका यादव, सत्यनारायण मण्डल, खगराज भट्ट, सुदन राई, जगप्रसाद शर्मा र रेखा शर्मा छन्। पोखरेल प्रदेश ५ र सुब्बा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत हुन्।

गत ३ साउनमा बसेको सचिवालय बैठकले संगठन विभागमा बामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुख तोकेको थियो भने २९ असोजमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारी थपिएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्