वडाध्यक्ष हत्या प्रकरण : सघन अनुसन्धान शुरु



२२ माघ २०७६, काठमाडौं

पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान शुरु भएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान शुरु गरेको हो।
♥ वडाध्यक्षको हत्या !
मङ्गलबार बिहानदेखि मृतक वडाध्यक्ष धामीको शव र घटनास्थललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान शुरु गरिएकामा आज बिहान ७ बजेदेखि कुकुर ट्यापिङसहित घटनास्थल र एक–दुई किलोमिटर वरपरको क्षेत्रमा सर्च गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता, प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

विनायक बजार बन्द
घटनाको निष्पक्ष छानबिनको माग गर्दै आज बिहानदेखि विनायक बजार बन्द गरिएको छ।

मृतकका आफन्त र स्थानीयवासीले बिहानदेखि सडकमा चक्काजाम गरेका हुन्। विनायक बजारका पसलहरु बन्द छन्। आफन्तहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन्।

पञ्चदेवल बजारमा बिहानदेखि टायर बालिएको छ भने सवारी आवगमन पनि बन्द छ। वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन्।

मंगलबार (हिजो) बिहान विनायक बजारबाट ३० मिनेट टाढा रहेको गैरीगाउँको भैँसीगोठमा वडाध्यक्ष धामी मृत भेटिएका थिए। ४० वर्षीय धामी शिक्षण पेशाबाट राजीनामा गरेर नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्