‘बाँसुरी र सारंगीको अर्थ नखोजौं, यो संयोग मात्र हो’



२२ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजना गरिएको कार्यक्रम पूर्वनिर्धारित भएको बताएका छन्।

बालुवाटारमा मंगलबार बेलुकी भएको कार्यक्रमका बारेमा पत्रकारले प्रश्न गरेपछि प्रचण्डले कार्यक्रमबारे आफूलाई पहिल्यै जानकारी भएको बताएका हुन्।

पत्रकारले ‘तपाईं पोखरामा हुनुहुन्छ। उता बालुवाटारमा बाँसुरी र सारंगी बज्यो यो के हो?’ भनेर प्रश्न गरेपछि प्रचण्डले कार्यक्रमबारेमा आफूलाई पहिल्यै जानकारी भएको बताए।

प्रचण्डले पत्रकारलाई सम्बोधन गर्दै भने, ‘हिजो बिहान म बालुवाटार गएको थिएँ। प्रधानमन्त्रीले बेलुकी सानो कार्यक्रम राखिएको छ। तपाईँ आउनुपर्‍यो भन्नुभयो। मैले पोखरा जानुपर्ने भनेको थिएँ। यो संयोग मात्र हो। यसको अर्थ नखोज्नुहोला।’

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालको उपस्थित भएका थिए ।

प्रधानमन्त्री ओलीले बाँसुरी बजाएको तथा दायाँबायाँ खनाल र नेपाल बसेर सारंगी रेटेको फोटोका बिषयमा सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिका-टिप्पणी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्