अमेरिकासँगको सैन्य सम्झौता खारेज गर्दै फिलिपिन्स



२५ माघ २०७६, काठमाडौं

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले अमेरिकासँगको सैन्य सम्झौता अन्त्यका लागि आदेश दिने भएका छन्।

राष्ट्रपतिका प्रवक्ता साल्भाडोर पानेलोका अनुसार दुतेर्तेले डोनल्ड ट्रम्पसँग जतिसुकै बेला पनि संवाद गर्न चाहेका छन्। तर उनीसँग प्रष्ट एजेन्डा छैन। प्रवक्ताका अनुसार दुतेर्तेले छिट्टै विदेश मन्त्रालयलाई अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गर्न आदेश दिँदैछन्।

तर, यस्तो आदेश कहिले दिनेछन् भन्ने मिती तय भएको छैन। गत महिना अमेरिकाले फिलिपिनो सिनेटर् रोनाल्ड डेला रोसालाई भिजा नदिएपछि दुतेर्तेले आक्रोशित हुँदै सैन्य भ्रमण सम्झौता अन्त्य गरिदिने चेतावनी दिएका थिए।

सन् १९९९ को उक्त सम्झौता अनुसार हरेक वर्ष अमेरिकी सेना फिलिपिनो सेनासँग अभ्यास गर्न फिलिपिन्स आउने गर्छन्। ‘म तिमीलाई चेतावनी दिँदैछु कि, यदी तिमीले सच्याएनौं भने म सैन्य सम्झौता अन्त्य गरिदिनेछु,’ दुतेर्तेले भनेका थिए।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्