नेकपाले १ फागुनलाई जनयुद्ध दिवसका रुपमा मनाउने



२७ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १ फागुनलाई जनयुद्ध दिवसको रुपमा मनाउने भएको छ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई शहीद स्मृति दिवसको रुपमा मनाउन निर्देशन दिइएको हो।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयबीचको सहमतिका आधारमा १ फागुनलाई शहीद स्मृति दिवसको रुपमा मनाउने निर्णय गरिएको जानकारी दिए।

“१ फागुनलाई जनयुद्ध र जनआन्दोलनका शहीदको स्मरण गर्नेगरी शहीद स्मृती दिवसको रुपमा मनाउने सहमति भएको छ। त्यसैअनुसार तल्ला तहका सबै कमिटीले शहीद स्मृती दिवसको अवसरमा १ फागुनलाई विभिन्न कार्यक्रम आयोजना गर्दैछ।” प्रवक्ता श्रेष्ठले भने।

नेकपा बनेपछि तत्कालीन विद्रोही नेकपा माओवादीले थालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन। अब भने जनयुद्ध र जनआन्दोलनका शहीदलाई स्मरण गर्नेगरी शहीद स्मृती दिवसको रुपमा मनाउने तयारी नेकपाले गरेको छ।

पूर्वमाओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको थियो भने पूर्वएमालेले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई प्राथमिकता दिएको थियो। ध्यक्षद्वयबीचको सहमतिका आधारमा अब नेकपाले १ फागुनलाई जनयुद्ध र जनआन्दोलनका शहीदको स्मरण गर्ने गरी औपचारिक कार्यक्रम गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्