२८ माघ २०७६, काठमाडौं
प्रतिनिधि सभाको लगातार तीन वटा बैठक अवरुद्ध गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले मंगलबार (आज) बोलाइएको बैठकलाई भने संचालन हुन दिएको छ।
आफ्नो उप-सभापति एवं संसदीय दलका उप-नेता विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको विरोधमा संसद् अवरुद्ध गरेको कांग्रेसले अवरोध खुलाएको हो।
कांग्रेसकी सचेतक पुष्पा भुसालले संसदीय दलको निर्णयअनुसार संसद्को अवरोध हटाइएको बताइन्। यस्तै उनले संवैधानिक र सरकारको स्वतन्त्र न्यायिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको छायाँमा परेको आरोप लगाइन्।
“राजनीतिक पूर्वाग्रहको आधारमा अख्तियारले मुद्दा दायर गरेको छ। तटस्थ, निष्पक्ष ढंगबाट आफ्नो कार्यक्षेत्रभित्र रहेर काम गर्नुपर्ने अख्तियारले सकारबाट प्रभावित भएर मुद्दा दायर गरेकाले संसद्मा विरोध जनाउनुपरेको थियो।” उनले भनिन, ‘विशेष अदालतमा दायर गरेको आरोपपत्र हेर्दा पनि पूर्वाग्रह राखिएको प्रष्ट छ।”