एमसीसी कार्यदलले दश दिनमा पनि रिपोर्ट बुझाउन सकेन



०२ फागुन २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मिलेनियम् च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न गठित कार्यदलको बैठक शुक्रबार पनि बसेको छ।

बैठकले एमसीसीको विषयमा प्राप्त भएका सामग्रीहरुमाथि छलफल गरेको छ। कार्यदलका सदस्य भीमबहादुर रावलले अहिलेसम्म प्राप्त सामग्रीहरुमाथि अध्ययन गरी समितिका सदस्यहरुबीच छलफल भएको बताएका छन्।

उनले समितिले तथ्यको आधारमा छलफल गरेको र छलफलका विषयहरु अभिलेख गर्ने निर्णय भएको बताए। रावलले एमसीसीका विषयमा प्राप्त सामग्रीहरुमाथि अझै अध्ययन गरी अभिलेख गर्दै जाने निर्णय गरिएको बताए।

कार्यदलको बैठक छिट्टै बस्ने उनको भनाई थियो। नेकपाभित्र तीव्र आलोचना भएपछि नेकपा केन्द्रीय समितिको बैठकले एमसीसीको अध्ययन कार्यदल गठन गरेको थियो।

नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलको समय यही माघ २९ गते सकिएको छ। कार्यदलले समय अपुग भएको भन्दै अरु १० दिन थप्न अध्यक्ष समक्ष समय थपको माग गरेको थियो।

कार्यदलमा खनालको संयोजकत्वमा सदस्यद्वय भीमबहादुर रावल र प्रदीप ज्ञवाली सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस्