कोरोना भाइरस आक्रमण : २४ घण्टामा १४३ को ज्यान गयो



०३ फागुन २०७६, काठमाडौं

चीनमा कोरोना भाइरसका कारण हालसम्म मृत्यु हुनेको संख्या १ हजार ६ सय ३१ पुगेको छ।

शुक्रबार (हिजो) मात्रै कोरोना भाइरसका कारण चीनमा १ सय ४३ जनाको मृत्यु भएको छ। कोरोनाका कारण सबैभन्दा बढी प्रभावित चीनको हुवेई प्रान्तमा २ हजार ४ सय २० नयाँ संक्रमितहरु भेटिएका छन्।

हिजो हुवेई प्रान्तमा मात्र कोरोनाका कारण १ सय ३९ जनाको मृत्यु भएको थियो। त्यस्तै हेनान् प्रान्तमा पनि यसैका कारण दुईजनाको मृत्यु भएको चीनको नेसनल हेल्थ कमिसनले जनाएको छ।

यसैगरी राजधानी बेइजिङ तथा चोङचिङमा पनि एक–एकजनाको मृत्यु भएको छ। समग्रमा कोरोनाका कारण चीनमा १ सय ४३ जनाको मृत्यु भएको हो।

कोरोना भाइरसको संक्रमण देखिएपछि चीनले द्रूत गतिमा निर्माण गरेको वुहानस्थित ह्वोसेङसाङ अस्पतालमा भर्ती हुने विरामीको संख्या १ हजार पुगेको छ।
ती विरामीहरुमा निमोनिया लगायतका लक्षण देखा परेको अधिकारीहरुले जनाएका छन्।

त्यस्तै कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न १ हजार ७ सय १६ चिकित्सा कर्मचारी उक्त भाइरसबाट संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्