प्रधानमन्त्रीलाई सांसद भुसालको प्रश्न : ‘मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला खै?’



०३ फागुन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सरकारमा भएको महिलाको प्रतिनिधित्वलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेकी छिन्।

सरकार सञ्चालन गरेको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री ओलीले शनिबार (आज) संसदलाई विशेष सम्बोधन गरेपछि पुरक प्रश्न सोध्ने क्रममा सांसद भुसालले  सरकारमा महिला सहभागिताको विषयलाई लिएर प्रधानमन्त्रीलाई प्रश्न गरेकी हुन्।

“संघर्ष र बलिदानपछि प्राप्त संविधानको कार्यान्वयनमा इमान्दार छु भन्नुभयो।” सांसद भुसालले भनिन्, ‘मन्त्रीमण्डल गठन गर्दा नयाँ संविधानको प्रस्तावना र धारा ३८ (४)ले ३३ प्रतिशत महिलाहरुको उपस्थिति देख्न खोजेको थियो। स्वयं प्रधानमन्त्रीको प्रतिबद्दतालाई हेर्न खोजेको थियो।’

सांसद भुसालले २५ मा दुई जनामात्रै महिलामन्त्री रहेको पुष्टि गर्दै दुईजनाले मात्रै ३३ प्रतिशत नपुग्ने बताइन्। ‘२५ मा २ जना मात्रै महिलामन्त्रीले के ३३ प्रतिशतको हाम्रो संविधानको भावनालाई कदर गरेको छ?’ उनले प्रश्न गरिन्। यस्तै उनले प्रधानमन्त्रीलाई व्यवहारबाट इमान्दारिता देखाउन आग्रह समेत गरिन्।

प्रधानमन्त्री ओलीको कम्युनिष्ट सरकार बनेपछि हाँस्न पाइँदैन, रुन पनि पाइँदैन भन्ने कथनलाई स्वयं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘देशभरी घुमे जनता सुखी र खुसी छैनन्’ भनेर पुष्टि गरेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्