मन्त्रीलाई कालोमोसो दल्न गएका राजपाका कार्यकर्ता प्रहरी नियन्त्रणमा



०३ फागुन २०७६, काठमाडौं

प्रदेश नं. २ मा एक मन्त्रीलाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदेश नं. २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह (रामबाबु) लाई कालोमोसो दल्न पुगेका युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राष्ट्रिय जनता पार्टी नेपाल समर्थित राष्ट्रिय विद्यार्थी संघका युवाहरू रहेका छन्। जनकपुरधाम ८ स्थित जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको एक कार्यक्रममा सहभागी हुन पुगेका बेला मन्त्री शाहलाई उनकै कार्यकर्ताले कालो झण्डा देखाउने र कालोमोसो दल्ने कार्यक्रमको योजना बनाएका थिए।

तर प्रहरीले जानकारी पाएपछि उनीहरुलाई कालो झण्डा देखाउने क्रममा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्